शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झापावासीसँग ओलीले भने: “देश चलाउन अनुभव, दर्शन र सिद्धान्त चाहिन्छ”

बिहिबार, माघ २२ २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम भइरहेको बताएका छन् ।

झापावासीहरूसँगको भेटघाटमा अध्यक्ष ओलीले गत भदौ २३–२४ गतेको घटनाका क्रममा केही तत्वहरूले उपद्रव मच्चाएर राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको दाबी गरे। उनले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत भएको तर पूर्ण रूपमा रोक्न नसकेको बताए ।

ओलीले आगो लगाउने, मार्ने र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी र घृणित आरोप लगाएर देश बदनाम गर्ने काम गरेको आरोप लगाए। उनले प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट गर्दै, “प्रधानमन्त्रीले गोली चलायो” भनी भन्छन् ती व्यक्ति बेवकुफ वा अपराधी भएको टिप्पणी गरे। उनको यो अभिव्यक्ति भदौ २३ गतेको जेन–जी प्रदर्शन र त्यसपछि भएको हिंसात्मक घटनासँग सम्बन्धित छ, जसमा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी र प्रहरी कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो।

उनले अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद रहेको टिप्पणी गर्दै, “देश चलाउने कुरा खेल वा ठट्टा होइन, दर्शन, नीति र सिद्धान्त चाहिन्छ” भने यस क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै, “एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुँ भनेर हिँड्नु हाँस्यास्पद छ” भने।

उनले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुनुनपर्ने बताउँदै, निर्वाचनको मिति सार्न सरकारसँग आग्रह गरे ।

ओलीले भने, “एमाले निर्वाचन आयोगले दर्ता खुला गरेर चुनाव लड्न बनाएको पार्टी मात्र होइन, देश बनाउन बनाएको पार्टी हो” भने। उनले देशको राजनीतिक स्थायित्व, निष्पक्ष निर्वाचन र लोकतान्त्रिक प्रक्रियाको रक्षा गर्न पार्टी र जनता दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।