काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन जाने भएका छन्। खुट्टाको घाउ पूर्ण रूपमा निको नभइसके पनि उनी आज बिहान चितवन प्रस्थान गर्ने तयारीमा रहेका छन्।
लामिछानेले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै आज चितवन जाने जानकारी दिएका हुन्। उनी चितवन क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। यसअघि सोमबार नै चितवन जाने तयारी भए पनि चिकित्सकको सल्लाहअनुसार यात्रा स्थगित गरिएको उनले उल्लेख गरेका छन्।
हालसम्म पनि खुट्टाको घाउले दुःख दिइरहेकाले लामिछाने सहज रूपमा हिँडडुल गर्न नसक्ने अवस्थामा छन्। पार्टी स्रोतका अनुसार चितवन पुगेपछि पनि तत्काल घरदैलो कार्यक्रम गर्ने स्थिति छैन। उनी अहिले बसोबास गर्ने स्थानमै रहेर राजनीतिक भेटघाट र छलफल गर्ने बताइएको छ।
यसैबीच, फागुन महिनामा रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह संयुक्त रूपमा देश दौडाहामा निस्किने तय भइसकेको छ। पार्टी नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो सातादेखि नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुनेछ।
“सातवटै प्रदेश पुग्ने गरी कार्यतालिका बनिरहेको छ,” रावलले भनिन्, “समयले भ्याएसम्म दुवै नेताले बढीभन्दा बढी मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुहुनेछ।” हाल बालेन्द्र साह पूर्वी नेपालमा रहेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ सहित आसपासका जिल्लामा रास्वपा उम्मेदवारको चुनावी प्रचारमा सक्रिय छन्।
यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर पुगेर रास्वपाको पहिलो चुनावी सभामा सहभागी भएका थिए। सोही कार्यक्रममा जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोक्किएर चोट लागेको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।