काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने देशका बाँकी भूभागमा आंशिक बदलीको अवस्था देखिएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
त्यसैगरी, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ भने पहाडी तथा हिमाली भागमा मौसम प्रायः सफा नै रहनेछ।
हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य, साथै हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबै सम्बद्ध निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ।