शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

वैदेशिक रोजगारीको प्रलोभनमा भारत लगेर शरीर बन्धक बनाएको आरोपमा दुई पक्राउ

बुधबार, माघ २१ २०८२

सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारत पुर्‍याई शरीर बन्धक बनाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरी रहेका छन्।

प्रहरीका अनुसार अभियुक्तद्वयले कल्याणपुर नगरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गया क्षेत्रमा आकर्षक काम दिलाइदिने भन्दै प्रलोभनमा पारी गत पुस २० गते भारत पुर्‍याएका थिए। त्यहाँ पुगेपछि मरिकको मोबाइल र शैक्षिक प्रमाणपत्र खोसी एक होस्टलमा बन्धक बनाइएको पीडितले बताएका छन्।

पीडितलाई कुटपिट गर्ने तथा ज्यान मार्ने धम्की दिँदै परिवारसँग फिरौती माग गरिएको र सोही क्रममा रकम असुल गरिएको प्रहरीले जनाएको छ। अभियुक्तहरूले पीडितको परिवारबाट रु दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारतीय रुपैयाँ असुल गरेको प्रहरीको भनाइ छ।