शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि नेपाली सेना देशभर परिचालन

बुधबार, माघ २१ २०८२

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आज (बुधबार)देखि नेपाली सेना देशैभर परिचालन गरिएको छ। एकीकृत सुरक्षा योजना २०८२ अनुसार नेपाली सेना निर्वाचन सुरक्षामा खटाइएको हो।

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी निर्वाचन सुरक्षामा संलग्न रहनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा घेरा सशस्त्र प्रहरी बलले सम्हाल्नेछ। नेपाली सेनाले सुरक्षा घेराको बाहिरी तहमा रही महत्त्वपूर्ण सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ।

नेपाली सेनाका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि ७९ हजार ७२७ जना सैनिक परिचालन गरिएको छ। सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन हुने जानकारी दिए। एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोही योजनाअनुसार सेना परिचालन गरिएको उनले बताए।

योजनाअनुसार निर्वाचनको एक महिना अघिदेखि नै सेनालाई फिल्डमा खटाइएको हो। निर्वाचनका क्रममा सेनाले तीन चरणमा सुरक्षा प्रदान गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइ, ढुवानी, मतदानस्थल तथा मतगणनास्थलको सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्नेछ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ।

मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउनेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। यस निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फबाट ७७ हजार जनशक्ति परिचालन गरिनेछ भने अपुग जनशक्ति पूर्तिका लागि एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

निर्वाचन क्षेत्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी वर्गीकरण गरिएको छ। दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० मतदानस्थल अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कूल ४९ हजार ६८६ जना परिचालित हुनेछन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यकता परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सशस्त्र प्रहरी परिचालन गरिएको जनाएको छ।