शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन सुरक्षाः सुदूरपश्चिमका चार जिल्ला संवेदनशील सूचीमा

मंगलबार, माघ २० २०८२

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिले संवेदनशील देखिएपछि प्रहरीले ती जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू गर्ने तयारी गरेको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार विगतका निर्वाचनका समयमा भएका घटनाको अध्ययन–विश्लेषणपछि ती चार जिल्लालाई संवेदनशील सूचीमा राखिएको हो। सोहीअनुसार निर्वाचन सुरक्षालाई केन्द्रित गर्दै आवश्यक तयारी तीव्र पारिएको उनले बताए।

“विगतमा निर्वाचनका बेला भएका अवाञ्छित घटनाको मूल्याङ्कन गर्दा यी चार जिल्ला संवेदनशील देखिएका छन्,” उनले भने, “निर्वाचन बिथोल्न सक्ने तत्वलाई निगरानीमा राख्दै आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइँदैछ।”

हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रका मतदानस्थलबाट मतपेटिका सदरमुकामसम्म ढुवानी गर्न हेलिकप्टरको व्यवस्था गर्ने तयारी गरिएको छ। निर्वाचनको दिन हिमपातको सम्भावनालाई ध्यानमा राख्दै मतदातालाई मतदानको वैकल्पिक व्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको प्रहरीले जनाएको छ।

दार्चुलाको उत्तरी क्षेत्र तिङ्कर र छाङरुङका बासिन्दा हिउँदेयाममा सदरमुकाम नजिकको तिङ्करखेडामा बसोबास गर्ने भएकाले उनीहरूलाई सदरमुकाममै मतदान गर्न पाउने व्यवस्था गरिने तयारी छ।

यस्तै बाजुराका हिमाली भेगका तीन पालिकाका कतिपय परिवार हिउँदेयाममा चौपायासहित अन्य जिल्लामा बसाइँसराइ गर्ने भएकाले निर्वाचनको दिनसम्म गाउँ फर्किने वा नफर्किने विषयमा यकिन हुन नसकेको प्रहरीको भनाइ छ।

निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन सवारीसाधन अभाव भएका प्रहरी कार्यालयमा सवारीसाधनको व्यवस्था गरिनेछ। साथै बाजुरा, अछाम र डोटीका लागि वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा छुट्टै टोली परिचालन गरिने तयारी गरिएको छ। दार्चुला, बैतडी र कञ्चनपुर तथा बझाङ, कैलाली र डडेलधुराका लागि पनि अलग–अलग टोली खटाइनेछ।

निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गरिनेछ। यसका अतिरिक्त सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आ–आफ्नो कार्ययोजनाअनुसार परिचालित हुनेछन्।

प्रदेशभर ३०२ मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्र छन्। विसं २०७८ को जनगणनाअनुसार प्रदेशको कुल जनसंख्या २६ लाख ९४ हजार ७८३ र कुल मतदाता संख्या १७ लाख १६ हजार ६६० रहेको छ।

जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिवेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचन विसं २०८२ फागुन २१ गते हुने तय भएको छ।