काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्र प्रयोग गर्दै आएको लिफ्ट अब सर्वसाधारण सेवाग्राहीका लागि खुला गरिएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आइतबारदेखि उक्त लिफ्ट सेवाग्राहीका लागि सञ्चालनमा ल्याइएको हो। कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट खुला गरिएको उनले जानकारी दिए ।
सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको महानगरको कार्यालय कमलादीस्थित भवनमा स्थानान्तरण भएपछि उक्त लिफ्ट निर्माण गरिएको थियो। निवर्तमान मेयर शाहले पासवर्ड प्रणाली प्रयोग गरी लिफ्ट आफूले मात्र प्रयोग गर्ने व्यवस्था मिलाएका थिए ।
महानगरको कार्यालय परिसरको पार्किङ क्षेत्रमा रहेको उक्त लिफ्टको आसपास अन्य कर्मचारी तथा सेवाग्राहीलाई जानसमेत रोक लगाइएको थियो। हाल भने लिफ्ट सबै सेवाग्राहीका लागि खुला गरिएको महानगरले जनाएको छ।