काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि भोलि (बुधबार)देखि नेपाली सेना परिचालन गर्ने भएको छ । निर्वाचन सुरक्षाका लागि एक महिनाअघि नै सेना खटाउने सरकारको तयारीअनुसार देशभर सैनिक परिचालन हुन लागेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार बुधबारदेखि नेपाली सेना परिचालन हुनेछ । सो योजनाअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७९ हजार ७२७ जना फौज परिचालन गरिने निर्णय गरिएको छ ।
परिचालित नेपाली सेनाले हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार तथा अन्य संवेदनशील स्थानको सुरक्षा पनि सम्हाल्नेछ । निर्वाचन अवधिभर आवश्यकताअनुसार गस्ती तथा पेट्रोलिङ गरिने र संवेदनशील क्षेत्र तथा मतदानस्थलको अवस्थालाई ध्यानमा राखी संयुक्त गस्तीसमेत सञ्चालन गरिने जनाइएको छ ।
गत कात्तिक महिनामा राजनीतिक दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखेपछि निर्वाचन आयोगले नेपाली सेनासहित चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो । त्यसैका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समितिको सिफारिसअनुसार गत ११ मङ्सिरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनको स्वीकृति प्रदान गरेका थिए ।ि
यसअघि ९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन बुझाएको थियो, जुन प्रतिवेदन पारित भएसँगै सोही योजनाअनुसार सुरक्षा तयारी अघि बढाइएको हो ।
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कुल तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन गरिनेछ । यसअन्तर्गत नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७५ हजार ५९७, नेपाल प्रहरी मातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन गरिनेछ । सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र सशस्त्र प्रहरी मातहत रहने गरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुनेछन् । त्यस्तै निर्वाचन सुरक्षाका लागि एक हजार ९२१ गुप्तचरसमेत परिचालन गरिने जनाइएको छ ।
गृह मन्त्रालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ ।