काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सरकारी स्वामित्वका सञ्चारमाध्यम तथा सम्बन्धित निकायसँग छलफल गरेको छ।
आयोगले आज आयोजित छलफलमा मतदाता शिक्षाको प्रवर्द्धन, सञ्चार अनुगमन, निर्वाचनमय वातावरणको सिर्जना, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा स्वच्छ, निष्पक्ष, भयरहित, पारदर्शी र मितव्ययी निर्वाचन सम्पन्न गराउन सहकार्यको योजना माग गरेको छ। निर्वाचन हुन अब एक महिना मात्र बाँकी रहेको सन्दर्भमा आयोगले सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिएको छ।
आयोगका निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले सञ्चारमाध्यमले नियमित जिम्मेवारीका अतिरिक्त निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात्का अवधिमा तथ्यपूर्ण सूचना तथा समाचार सामग्री उत्पादन र प्रकाशन–प्रसारण गरी निर्वाचनको राष्ट्रिय दायित्व सफल बनाउनुपर्ने उल्लेख गरे ।
छलफलमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राईले राससले २४ सै घण्टा समाचार सेवा प्रवाहमार्फत ६ सयभन्दा बढी सेवाग्राहीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचार, आलेख, विचार, अन्तर्वार्ता, मातृभाषा सेवा लगायतका सामग्री सम्प्रेषण गरिरहेको जानकारी दिए। उनले निर्वाचन क्षेत्र विशेषका समाचार संकलनका लागि निर्वाचन डेस्क स्थापना गरी प्रभावकारी रूपमा काम भइरहेको पनि बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले निर्वाचनका समयमा विज्ञापनमार्फत आचारसंहिता उल्लङ्घन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै बोर्डले नियमनको काम गरिरहेको जानकारी दिए ।