काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको लोभमा नलागेको र पुराना नेताहरूको भीडमा नरहेको स्पष्ट गरेका छन् ।
आइतबार एक भिडियो सन्देशमार्फत जेनजी र युवापुस्तालाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि संघर्ष जारी राख्ने बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा संयोजक प्रचण्डले भनेका छन्, “धेरैलाई म र म जस्ता पुराना नेता एउटै जस्तो लाग्न सक्छ । तर म स्पष्ट रूपमा भन्न चाहन्छु—म ती पुराना नेताहरूको भिडमा छैन । म सत्ताको भागबण्डाको त्यस्तो सम्झौतामा सहभागी हुन चाहन्न, जसले देशलाई बन्धक बनाइरहेको छ ।”
उनले आफू फरक रहेको दाबी गर्दै आफ्नो काम र निष्ठालाई समयले प्रमाणित गर्ने बताए । “म फरक छु र यो प्रमाणित गरेरै छाड्नेछु । आज होइन, भोलिको समयले मेरो काम र निष्ठाको मूल्याङ्कन गर्नेछ,” उनले भने ।
संयोजक प्रचण्डले जीवनमा सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाइसकेपछि अब सत्ताको कुनै लोभ नरहेको उल्लेख गरे । उनले भने, “मान्छेले जीवनमा गुमाउन सक्ने जति सबै मैले गुमाएँ । तर यो संघर्ष मेरो व्यक्तिगत होइन, यो हजारौँ सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले सुन्दर र समृद्ध नेपालका लागि रगत बगाए ।”
परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै उनले आफूले त्यो परिवर्तन सुनिश्चित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । “मेरो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन । परिवर्तन भएरै छाड्नेछ,” उनले भने ।
एक चर्चित भनाइ उद्धृत गर्दै संयोजक प्रचण्डले आफू खलनायकको रूपमा इतिहासमा चित्रित हुन नचाहेको स्पष्ट पारे । भावुक हुँदै उनले भने, “म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा सम्झिन्थ्यो होला । तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्न । यो देशलाई सही दिशामा नपुर्याएसम्म म विश्राम लिने छैन ।”
उनले अब नयाँ नेता परीक्षण गर्दै समय बिताउने अवस्था नरहेको उल्लेख गर्दै युवालाई सामाजिक सञ्जालका पोस्ट र प्रचारबाट भ्रममा नपर्न आग्रह गरे । “हामीसँग अर्को २० वर्ष परीक्षण र त्रुटी गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन,” प्रचण्डले भनेका छन् ।