शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बल्ल दियो चीनले थप उडान अनुमति, पर्याप्त भने होइन

शुक्रबार, साउन १० २०७६

काठमाडौं । चिनियाँ जहाजले नेपाल उडान गर्ने तर नेपाली जहाज चीन जान नपाउने स्थितिमा केही सुधार भएको छ । दुई मुलुकबीचको हवाई सम्झौता पुनरावलोकनका क्रममा नेपालले चीनका विभिन्न सहरमा सातामा ९८ उडान गर्न पाउने सम्झौता भएको छ । 

जसमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर ७० वटा उडानको सहमति भएको छ। पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।  

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल र चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा सुरु भएको थियो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ सहरमा उडान गर्न पाउनेछन् । यसअघिको सम्झौतामा ७ सहरमा मात्र उडान हुँदै आएको थियो ।

नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति नपाए पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन् । तर चीनले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ। हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ । 

वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली चीन गएको थियो । टोलीलाई हवाई सम्झौता पुनरावलोकनका लागि मन्त्रिपरिषद्बाट समेत सहमति दिइएको थियो ।

चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६÷५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान र्पुयाइएको थियो । अब भने यो संख्या उपत्यकाबाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ ।