काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता प्रक्रिया चलिरहेको भनिए पनि त्यस्तो कुनै प्रक्रिया अगाडि नबढेको गृहमन्त्रीले नै रहस्य खोलेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले वार्ताका विषयमा विप्लवले कुनै वास्ता नगरेको आसयमा अभिव्यक्ति दिएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित वार्षिक कार्यसम्पादन र भावी कार्यदिशाका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।
गृह मन्त्रालयको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्नु रहेको बताउँदै मन्त्री थापाले त्यसका लागि गृह मन्त्रालयल सफल रहेको दाबी गरे । ‘देशमा शान्ति सुरक्षा कायम गर्ने काममा गृह मन्त्रालय सफल रह्यो भन्ने हाम्रो बुझाइ हो । अन्तर्राष्ट्रिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि हो,’ उनले भने, ‘यसको अर्थ हामी पूर्ण रुपमा सफल छौं भन्ने होइन ।’
अहिलेको शान्ति सुरक्षाको मुख्य चुनौती विप्लव समूह रहेको भन्दै उनले उक्त समूहलाई मुलधारमा ल्याएपछि शान्ति सुरक्षाको अवस्था पूर्ण हुने उनले बताए ।