काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई करिब ५ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन्।
यो आन्दोलनका क्रममा कुल ३,३१६ वटा बीमा दाबी परेको थियो, जसको कुल दाबी रकम करिब २३ अर्ब ४७ करोड रुपैयाँ थियो। बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी बीमितहरूलाई यसमध्ये करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका हुन्।
अद्यावधिक तथ्याङ्क अनुसार:
सम्पत्ति बीमा: ७१२ दाबी, कुल दाबी रकम १९ अर्ब ५ करोड, भुक्तानी ३ अर्ब ९३ करोड ५९ लाख
मोटर बीमा: २,३२१ दाबी, कुल दाबी रकम ३ अर्ब ४६ करोड १६ लाख, भुक्तानी १ अर्ब ३९ करोड २५ लाख
इञ्जिनीयरिङ/ठेक्का जोखिम बीमा: २२६ दाबी, कुल दाबी रकम ५५ करोड ३९ लाख, भुक्तानी ८ करोड ३६ लाख
परिवहन बीमा: १२ दाबी, कुल दाबी रकम १ करोड ६९ लाख, भुक्तानी १ करोड ५५ लाख
अन्य बीमा: ४५ दाबी, कुल दाबी रकम ३८ करोड ४० लाख, भुक्तानी ५ करोड
यस्तै, नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानी समेत गरी करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट कुल २,८६३ वटा पुनर्बीमा दाबी परेको छ, जसको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको प्राधिकरणले जानकारी दिएको छ।