पोखरा । पोखरामा गएको ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटनक आएका छन् । पर्यटकीय राजधानीको रुपमा परिचित गण्डकी प्रदेशको राजधानी पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएका हुन् । गण्डकी प्रदेश सरकारले प्रदेशमा आउने पर्यटकको संख्या हालै संकलन गरेको हो ।
पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन भन्ने एकीन तथ्याङ्क नभए पछि गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गते देखि स्थलमार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङ्क पोखरा विमानस्थलबाट लिएको हो ।
गत साउनदेखि जेठ महिनासम्मको तथ्याङ्क अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार ६९६ रहेको छ । चीनसहित एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार ७४९ रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले जानकारी दिए ।
स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँपु खैरेनीस्थित पृथ्वी राजमार्गको आपु खैरानी प्रहरी चेक पोस्ट र स्याङजाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीको सहयोगमा गत साउन १ गतेदेखि संकलन गरिएको हो ।