मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

देशप्रतिको चिन्ताका साथ अधिवेशनको माग गरेका हौँ : महामन्त्री थापा

बिहिबार, कार्तिक २० २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन तत्काल गर्न माग गर्नुको कारण देशप्रतिको चिन्ता भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अधिवेशनको मुद्दा केवल नेतृत्व परिवर्तन वा समय निर्धारणको विषय नभई, देशमा बढ्दो असन्तुष्टि र भ्रष्टाचारविरुद्धको जनआवाजसँग जोडिएको बताएका छन् ।

‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केवल युवा पुस्तासम्म सीमित थिएन, सबै उमेर समूहका नागरिकले भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध असन्तुष्टि जनाएका थिए,’ थापाले भनेका छन्। ‘त्यो असन्तुष्टि हाम्रो पार्टीतर्फ पनि थियो। त्यसैले अधिवेशनको माग देश र पार्टी दुवैप्रतिको जिम्मेवारीबाट आएको हो,’ उनको भनाइ छ।

थापाले पहिलोपटक कांग्रेसकै नेतृत्वमा नभई कांग्रेसकै विरुद्ध आन्दोलन भएको कुरा गम्भीर आत्मसमीक्षाको विषय भएको उल्लेख गरेका छन्। ‘हामी सत्ता पक्ष र पहिलो दल थियौँ, तर आज न पहिलो दल छौँ न सत्ता पक्ष। सडकमा आइपुगेका छौँ। अब पनि समीक्षा नगर्ने ?’ उनले प्रश्न गरेका छन् ।

महामन्त्री थापाले पार्टीको अधिवेशनबारे सुरु भएको बहसमा सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा सहभागी हुन पनि आग्रह पनि गरेका छन् ।