क्यालालम्पुर । नेपाली क्रिकेटको अन्डर १९ टोलीले इस्टर्न क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा उपाधिसँगै नेपाल आगामी अगस्ट–सेप्टेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ ।
मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता बन्न सफल भएको छ । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो ।
नेपालको जितका लागि पवन सरार्फले ३९ रनको योगदान गरे । पवनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रित गौतम १४ बलमा १३ र खडक बोहरा २२ बलमा ८ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन बनाएर आउट हुँदा भीम सार्की ८ रन बनाई नटआउट रहे । ६ बल सामना गरेका हरिबहादुर चौहानले रन जोड्न सकेनन् ।
हङकङका लागि रौनक कपुरले २, मोहमद हसन खान र हसन खानले नेपालको एक–एक विकेट लिए ।