काठमाडौं असार, १८–
पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेको प्रमुख आतिथ्यमा महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ
सो अवसरमा महानिर्देशक घिमिरेले महानगरीय पर्यटन सूचना केन्द्र, ठमेलको उद्घाटन गर्दै सो केन्द्र निर्माण हुनु प्रशंसनीय कार्य भएको बताए । पर्यटक प्रहरीले पर्यटकहरुलाई भ्रमणको क्रममा सहजीकरण गर्दै आएकोमा यस सेवालाई थप गुणस्तरीय बनाउन केन्द्र प्रभावकारी हुने महानिर्देशक घिमिरेले चर्चा गरे । आगामी दिनका प्रहरी कार्यहरु समुदायको आवश्यकतामा आधारित हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीले लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम उपयोगी रहेको उनले बताए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन गर्दै जनचेतनाको स्तर औधी राम्रो भएको ठमेल क्षेत्रलाई अब प्रविधि मार्फत सुरक्षा प्रदान गरी उदाहरणीय कामको सुरुवात गर्नुपर्ने बताए । सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्ने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने उनले बताए । साथै ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष खेमराज तिवारी, ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल र योंग माइन्ड नेपालका प्रबन्ध निर्देशक डा. अविजित गुप्ताले समेत उक्त सूचना केन्द्र र मोबाइल एपको महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै सूचना केन्द्र र मोबाइल एप सम्बन्धी प्रस्तुतीकरण गरे ।
पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको र उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने उक्त अवसरमा जानकारी दिइयो ।
पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपको आयोजना तथा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, पर्यटन व्यवसायसंग सम्बद्ध निकायका प्रतिनिधिहरु, यातायात व्यवस्था समितिका पदाधिकारीहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।