राजधानीसहित देशका विभिन्न कार्यालयमा आगजनी र व्यापक तोडफोड
काठमाडाैं । भ्रष्टाचार, बेथिति, अव्यवस्था र सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा सुरु भएको आन्दोलन कुनै प्रदर्शनमा मात्रै सीमित रहेन । आन्दोलनले २७ घण्टामै देशको राजनीतिमै उथलपुथल ल्याएर सत्ता शून्यता सिर्जना गरिदियो । आन्दोलनले मुलुकलाई अनिश्चित भविष्यतर्फ समेत धकेलिदिएको छ ।
मंगलबार अपराह्न काठमाडौं आन्दोलनकारीले नियन्त्रणमा लियो । सडकदेखि सरकारी कार्यालय, प्रहरी बिटदेखि उद्योग प्रतिष्ठानसम्म उनीहरूले कब्जामा लिए ।
आन्दोलन सुरु भएको पहिलो दिन (सोमबार) मै १९ जना होनहार युवा नागरिक प्रहरीको गोलीबाट निर्मम रूपमा ढले । सयौँ घाइते भए, धेरै अंगभंग भए । देशकाे परिस्थिति असहज भएपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा दिन बाध्य भए ।
मंगलबार राजधानीमा दिनभर आगोको मुस्लो मात्रै देखियो । आन्दोलनको रापले सरकारी सम्पत्ति जलेर खरानी बन्यो ।
आन्दोलनकारीहरूले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका प्रतीक मुख्य भवनमा कब्जा जमाए । संसद् भवन नयाँ बानेश्वरदेखि सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपतिनिवास शीतल निवाससम्म जेन–जी पुस्ताले नियन्त्रणमा लिए । आगजनी र तोडफोडले मुलुकका संस्थागत संरचनालाई एकैपटक थिलथिलो बनायो । प्रहरी र सुरक्षाबल आन्दोलनकारीलाई रोक्न असमर्थ देखिए । कतिपय स्थानमा त प्रदर्शनकारीले प्रहरीका हतियारसमेत खोसेर प्रयोग गरे ।
उपत्यकाबाहिर पनि ‘जेन-जी’ आन्दोलन तीव्र बनेको छ । मंगलबार दिउँसो आन्दोलन उग्रिँदा सुरक्षाकर्मी पछि हटेपछि प्रदर्शनकारीहरूले नेताहरूका निवास र सरकारी कार्यालय लक्षित गर्दै आगजनी गरेका छन् । यस क्रममा चोरी र लुटपाटसमेत भएको छ ।
प्रदर्शनकारीहरूले झापाको दमकस्थित पूर्वप्रधानमन्त्री केपी ओलीको घर र चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा आगजनी गरेका छन् । त्यस्तै, कैलालीमा कांग्रेस नेतृ आरजु देउवा राणाको घर, दाङमा शंकर पोखरेलको घर, र कञ्चनपुरमा नेता रमेश लेखकको घर तथा जिल्ला प्रशासन कार्यालयमा समेत आगो लगाइएको छ ।
धनगढीमा मुख्यमन्त्री तथा मन्त्रालयका कार्यालय, सुदूरपश्चिम प्रदेशसभा भवन, कांग्रेस, एमाले र माओवादीका जिल्ला–प्रदेश पार्टी कार्यालयहरूमा आगजनी गरिएको छ ।
त्यस्तै, लम्किचुहा र गोदावरी नगरपालिकामा कांग्रेस पार्टी कार्यालय तोडफोड र आगजनी भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका सरकारी सवारीसाधनहरू समेत जलाइएका छन् ।
विराटनगरमा कफ्र्यु उल्लंघन गर्दै आन्दोलनकारीहरूले कोसी प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा आगजनी गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवास र कार्यालयमा समेत तोडफोड र आगलागी भएको छ ।
नेकपा एमालेको विराटनगर पाञ्चालीस्थित कार्यालयमा समेत आगो लगाइएको छ । आन्दोलनकारीहरूले विभिन्न सरकारी कार्यालय जलाउँदै त्यहाँ रहेका सामग्रीसमेत उठाएर लगेका छन् ।
जेनजी युवाको भ्रष्टाचारविराधी प्रदर्शनपछि उत्पन्न परिस्थितिका बीच तनाव साम्य पार्न नेपाली सेनाले पहल लिएको छ ।
मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन् ।
उनले एक भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गरेका हुन् ।
देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ।