काठमाडौं । सुन तस्करी प्रकरणको फरार सूचीमा रहेकी अमला रोका मगर पक्राउ गरिएपछि नेकपा माओवादी केन्द्रका उच्च तहका नेतामाथि पनि रेकी थालिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अमला रोका मगरलाई पक्राउ गरेको थियो। यस पक्राउ प्रकरणल लहरो तान्दा पहरो झर्ने अनुमान गरिएको छ।
६१ किलो सुन तस्करी प्रकरणकी अभियुक्त अमलाको कनेक्शन माओवादी उपमहासचिव बर्षमान पुनसँग मात्र नभएर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः, उपाध्यक्ष कृष्णबहादुर महरादेखि सिंगो माओवादीका पदाधिकारी सबैसँग गहिरो र घनिष्ठ रहेका विवरण यसअघि नै सतहमा आइसकेका छन्।
यसबाहेक सुन तस्करी प्रकरणमा अमला पक्राउ नपर्दा ‘सुनपानी’ छर्किएको ठानेका माओवादीका नेताहरु पनि तानिन सक्ने सम्भावनालाई ‘मृत’ राख्न नमिल्ने अनुसन्धानमा अब्बल पूर्वप्रहरी अधिकारी बताउँछन्।
यसअघि माओवादी सरकारमा रहेका बेला सुन प्रकरणमा नसमातिएकी उनी एकाएक पक्राउ गरिएकी छन्। ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेपछि माओबादी नेताहरु महरा, वर्षमान र नन्दकिशोर पुनः तनावमा परेको बताइन्छ।
अमला ६१ किलो सुनकाण्डका नाइके बेल्जियम नागरिक दावा छिरिङकी पत्नी हुन्। अध्यागमन विभागमा दावाको भिषा सहजिकरणका लागि दावाकी पत्नीका रुपमा उनले कागजात पेश गरेकी थिइन्।
ठमेलमा होटल भियना चलाएर बसेकी अमला र उनका पति दावा छिरिङ सुन तस्करीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। दावा पक्राउ परेर अहिले कानुनी कारबाहीका क्रममा कारागारमा छन्। अमला भने फरार रहेकी थिइन्।
स्कुटरको ब्रेक शु, पानी तान्ने मोटर लगायतमा फिट गरी सुन तस्करी गर्ने योजनाका नाइके मानिएका दावा पक्राउ परेसँगै उनीसँग सम्बन्ध देखिएका अन्य चिनियाँहरु पनि पक्राउ परेका थिए। दावालाई नेपालमा व्यापारिक संजाल विस्तार गर्न योगदान गरेको तथा सुन तस्करीमा समेत शंकास्पद भूमिका देखिएको आरोपमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन समेत तानिएका थिए।
अमला रोकासहित माओवादी उपमहासचिव वर्षमान पुनका भाई प्रनेश पुन मगरको लगानीमा सुन उत्खनन तथा प्रशोधन गर्ने कम्पनी रहेको खुलेको थियो। माओवादी उपमहासचिव पुनले त अमला रोका आफ्नी गाँउले चेली भएको स्वीकार गरेका थिए।
२०५५ सालमा भलिबल खेलको निहुँमा भएको ग्याङफाइटमा अमला रोकाका पूर्वपति सुजन प्रकाश रोकाको खुकुरी प्रहारबाट मृत्यु भएको उल्लेख गरिएको छ। २०६३ सालसम्म गाँउमै काखको छोरा हुर्काउँदै गरेकी अमला, माओवादी शान्ती प्रक्रियामा आएसँगै काठमाडौ झरेर अल्लो, भाङ्गो व्यापारमा लागेकी थिइन्।
त्यहीबेला उनका पूर्वपती सुजन प्रकाश रोकालाई समेत माओवादीले शहीदको सूचीमा राख्यो भने अमलाले समेत शहिदको परिवारको भत्ता बुझन् थालिन्। यही कारण माओवादी नेताहरुसँग उनको सम्बन्ध राम्रो हुँदै गयो।
सानो तिनो व्यापार र माओवादी नेताहरुसँग नजिक भएपछि उनको सम्बन्ध ठूला व्यापारीहरुसँग बढेको थियो। यही क्रममा उनको तिब्बती मूलका बेल्जियन नागरिक दावासँग विवाह भएको थियो। दावासँग बिहे भएपछि भने थबाङको ठूलो गाँउकी अमला रोकाको आर्थिक हैसियत अस्वभाविक बढेको देखिन्छ।
सुन काण्डकी अमला पक्राउ गरिएपछि माओवादी पदाधिकारीका धेरै जना तानिने सम्भावना छ। हालै मात्र पनि नन्दबहादुर पुनलाई माओवादी उपाध्यक्ष बनाइएको थियो। यस प्रकरणलाई माओवादीले कानुनी मात्र नभई राजनीतिक रुपमा पनि व्याख्या गर्न कोशिश गरेको छ।