शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

बुधबार, असार ४ २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका–३ बस्ने सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।

पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।