यसै साता नेपालका दुई छिमेकी भारत र पाकिस्तान युद्धको चरणमा प्रवेश गरे। मानवीय क्षति मात्रै भएन क्षेत्रीय अशान्तिको खाका समेत कोरियो। यसले दक्षिण एसीयाली मुलुकमा अशान्त वातावरण निर्माण भएको थियो। तर, अमेरिकाको मध्यस्तताका आधारमा दुई मुलुक युद्धविरामको चरणमा प्रवेश गरे र यसले खुशीयाली दियो। यद्यपि दुवै मुलुकका आ–आफ्ना दाबीका औचित्य देखावटी मात्र हुन्। यसले छिमेकमा पर्न सक्ने असरमा भने निक्कै प्रभावशाली रोकावट गरेका कारण शुभकामना भन्नु उचित हुनेछ। दुवै मुलुकले आफ्नो पुरानो दुश्मनीलाई नयाँ प्रारुपमा मात्र प्रस्तुत गरेनन्। को कति बलियो, कसको हतियार कति प्रभावशाली भन्ने पनि देखियो। असलमा यो युरोपेली मुलुक र चिनियाँ हतियारको प्रयोगशालाका रुपमा पनि व्याख्या गर्न उचित हुनेछ। किनकी भारतले राफेल भनिने फ्रान्सबाट खरिद गरेको सैन्य उपकरणसहितको लडाकु विमान तथा पाकिस्तानले चीनमा निर्मित लडाकु विमानको उपयोग गरेको थियो।
यस प्रकरणमा अमेरिका अग्रसर हुनु र खासगरी राष्ट्रपति डोनल्ड ट्रम्प सक्रिय हुनुको पनि गहिरो अर्थ रहेको व्याख्या भएका छन्। विश्व महाशक्तिका रुपमा उदाएको चीनमा हतियार बलियो हिसाबले बनिरहेको परिक्षणका रुपमा अमेरिकाले बुझेको भन्ने कोणबाट पनि बुझिन थालिएको छ। जसको प्रयोग पाकिस्तानले गरेको थियो र फ्रान्सेली लडाकु विमानलाई मार हानेको भन्ने चर्चा चल्यो। अमेरिकाले यो सूचनालाई मिहिन हिसाबले हेरेको थियो। त्यसैले लामो समय नहुँदै उसले सहमति गराउने मध्यस्तता गरेको थियो जबकि, रुस र युक्रेनको युद्धमा उसको मध्यस्तताले लामो समय पार गर्दा पनि परिणाम पाउन सकेको छैन। यो विश्व राजनीतिको एउटा दरिलो उदाहरण पनि हो।
विश्वमा महाशक्तिका रुपमा अर्थतन्त्रदेखि सैन्य शक्तिमा उदाएका मुलुकका फरक राजनीति छन्। त्यसमा पाकिस्तान पनि आणविक शक्तिका रुपमा रहेका कारणले सैन्य शक्तिका रुपमा मात्र उदाएको मान्न सकिन्छ। उसको आर्थिक अवस्था भने दरिलो र बलियो छैन। तर यो युद्धले नेपाल जस्तो भारतसँग सीमा जोडिएको मुलुकलाई अशान्त वातावरणले प्रभाव पार्न सक्ने थियो। नेपालबाहेक बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटानलगायतका मुलुक पनि प्रभावमा पर्न सक्थे। यसकारण क्षेत्रीय शान्ति नेपालको चासो र आवश्यक कदम थियो जुन केही दिनमा नै सम्भव भयो। यसर्थ युद्ध कुनै पनि समस्याको समाधान होइन, वार्ता र शान्ति नै यसको हल हो भन्ने तत्कालिक उदाहरण पेश भएको छ।
यद्यपि भावी दिनमा के होला त्यो हेर्न बाँकी छ, अहिलेका लागि भने यो स्वागत र शुभकामनायोग्य काम हो।