सिन्धुली वैशाख, ४–
चिकित्सक र कर्मचारी समायोजनका कारण सिन्धुली अस्पतालको सेवा ठप्प भएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्दा अस्पतालमा कार्यरत सबै चिकित्सकले संघ मातहतका स्वास्थ्य संस्था रोज्दै कार्यालय छाडेर गएपछि सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए।
अस्पतालले करारमा लिएका ३ जना मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन गर्नुपर्दा एक सातादेखि यहाँका सेवाहरू बन्द जस्तै छन्।
अस्पतालमा ६ जना विशेषज्ञ डाक्टर सहित ६४ जनाको दरबन्दी छ। तर, कर्मचारी समायोजनका कारण एक जना प्रशासनिक कर्मचारी बाहेक अन्य कर्मचारीहरुले संघ रोजेर हिँडेपछि ६३ जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दी खाली छ।
‘सरकारले समायोजनपछि सिन्धुली अस्पतालका लागि खटाएका चिकित्सक कहिले आइपुग्ने भन्ने कुनै टुङ्गो छैन। विशेषज्ञ चिकित्सक अभाव हुँदा अस्पतालमा ओपीडी र गर्भवती लगायत प्रायः सबै सेवा प्रभावित भएका छन्,’ उनले भने।
वरिष्ठ स्त्रीरोग विशेषत्र तथा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले समायोजनमा संघ रोजेपछि उनले पनि सिन्धुली अस्पताल छाडिसकेकी छन्। ‘गौतमसँगै भएका स्टाफ नर्स सबै सरुवा भएर गएपछि अस्पतालमा स्त्री रोग तथा गर्भवती महिलाको स्वास्थ्य परीक्षण सेवा समेत एक सातादेखि प्रभावित भएको छ,’ पोखरेलले भने।
बाल रोग विशेषज्ञ डाक्टर बुलु वाग्लेको दरबन्दी सिन्धुली अस्पतालमा भएपनि उनी केही महिना अघि सिन्धुलीमा हाजिर भएर काठमाडौं बस्दै आएकी छन्। उनको पनि समायोजनमा सिन्धुलीमा नपरेपछि बालरोग विशेषज्ञको अभावमा लामो समयदेखि सेवा प्रभावित हुँदै आएको थियो।