बालबाल जोगिए उपप्रधान तथा अर्थमन्त्री
काठमाडौं । पोखरा भ्रमण बर्षको उद्घाटन २०२५ को प्रमुख अतिथिका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो रहेको खुलेको छ। तर, सत्तारुढ दलको बैठकका कारण उक्त कार्यक्रममा ओलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पठाएका थिए।
पोखरा महानगरपालिकाका ३३ वटै वडाका विभिन्न सङ्घ संस्था, आमा समूह, विभिन्न जातजाति भाषाभाषी, आआफ्नो पोसाकमा सजिएर सांस्कृतिक झाँकी सहित पोखरा ९ स्थित प्रदर्शन केन्द्रमा भेला भएका थिए।
कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सङ्घीय पर्यटनमन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुकुमारी गुरुङ लगायत उपस्थित थिए।
उक्त कार्यक्रममा पौडेलको ठाउँमा प्रधानमन्त्री ओली पर्न सक्ने सम्भावना थियो। उच्च स्रोतले भन्यो,‘यता सत्ता गठबन्धनको बैठक नराखिएको भए परिस्थिति अर्काे हुन सक्थ्यो।’
डिजिटल प्रविधिबाट दीप प्रज्वलन गरेपछि बलून उडाउने कार्यक्रम थियो। मञ्च तल राखिएको बलून दीप प्रज्वलन गरिएको मञ्चको अघिल्लो भागमा ल्याएर उडान लागिएको थियो। दियो नजिकै ‘स्पाक्र्लर्स’ बाट आगोको झिल्का आइरहेका थिए।
जब मन्त्री पौडेल र मेयर आचार्यको हातमा दर्जनौँ बलूनहरू बाँधिएका एक–एक वटा डोरी थमाइयो हाइड्रोजन भरिएको बलूनमा एक्कासि आगोको ज्वाला मात्रै सल्किएन विस्फोटको आवाज समेत आयो।
बलूनका दुई वटै झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए।
पौडेल र आचार्यलाई थप उपचारका लागि काठमण्डूको कीर्तिपुर स्थित जलन अस्पतालमा ल्याइएको छ। अर्थमन्त्री पौडेलका स्वकीय सचिव याम पाण्डेका अनुसार पौडेलको घाँटीको पछाडिको भाग, हात र ओठमा जलनको असर देखिएको छ।
बलून पड्किएर ठूलो आगो बलेपछि अर्थमन्त्री पौडेल मञ्चतर्फ दौडिएका थिए।
त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका सहप्राध्यापक अच्युत अधिकारी र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक लेखनाथ खनाल हाइड्रोजन भरिएका बलून आगोनजिक लैजाँदा दुर्घटना भएको ठान्छन्। सामान्य सावधानी समेत नअपनाउँदा दुर्घटना भएको उनको ठम्याइ छ।
हाइड्रोजन अत्यन्त प्रज्वलनशील पदार्थ मानिन्छ। हलुका हुने भएकोले बलून उडाउन यसको प्रयोग हुने रसायनशास्त्रमा विद्यावारिधि गरेका उपप्राध्यापक बताउँछन्।
हलुका हुने भएका कारण बलून आकाशमा उडाउन नेपालमा हाइड्रोजन भर्ने अभ्यास रहेको र त्यसको नियमन हुन नसकेको अधिकारीले बताए।
आकाशमा उडाइने बलूनमा हिलिअम ग्यासको प्रयोग सुरक्षित मानिन्छ। तर हिलिअम महँगो पर्ने भएका कारण बलून भर्ने ठाउँहरूमा हाइड्रोजनको प्रयोग गर्ने गरिएको उनी बताउँछन्।