पोखरा चैत, २४–
गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । आइतबार पोखरामा क्षेत्रीय सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले सरकार गठनको एक वर्षलाई समीक्षा गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका हुन् । उनले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको जिकिर गरे । उनले भने, ‘पृथकतावादीहरुलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएका छौं, राष्ट्रिय अखण्डता र देशको विकासमा समाहित गर्ने उनीहरुले सहमति गरेका छन् ।’ संविधानविरोधी समूह अझै समस्या रहेकाले उनीहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको थापाले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’
विप्लव समूहको असंवैधानिक गतिविधिमाथि सरकारले प्रतिवन्ध लगाएको उनको भनाइ छ । ‘संविधान र कानुनले नै त्यस्ता गतिविधिमाथि प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘उनीहरु पनि सहमतिमा आउँछन् ।’ अपराध नियन्त्रण गर्न पनि सरकार सफल भएको थापाको दाबी छ ।