मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्रेष्ठ रेहका छन्।

भक्तपुर चाँगुनारायण नगरपालिका–४ डि गाउँस्थित एकान्त ठाउँमा गत मंसिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्स एप मार्फत अमेरीकी डलर सटही दर रेट भन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार नेपाली रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गरेको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।