हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड दीपावली वा तिहार आउन पनि केही दिन मात्र बाँकी छ । तिहार आएपनि व्यापारीहरु खुशी देखिएका छैनन् । अधिकांश व्यापारी भन्छन्, ‘दशैँमा त व्यापार भएन । तिहारमा झन् के नै होला ।’ दशैँमा आफ्नो गाउँघर फर्किएका कतिपय अझै पनि फर्किएका छैनन् । सायद उनीहरु नफर्किन पनि सक्छन्।
किनकि फर्किएर पनि कसरी जीविकोपार्जन धान्नु ? अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा घर खाली रहेको पाइन्छ । घरको झप्याल, ढोका वा भित्तामा घरधनीहरुले ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘टुप्लेट’, ‘फ्ल्याट खाली’ लगायत लेखेर टाँसेको पाइन्छ । भाडा तिर्न नसकेपछि कतिपय व्यापारीले सटर छोडिरहेको पनि देखिन्छ।
बजार झन् झन् मन्दीतर्फ मोडिएको छ । मानिसको चहलपहल ह्वात्तै घटेको छ । कोही गाउँ फर्किए त कोही विदेश पलायन भए । असोजमा दशैँ थियो । सो अवधिमा पनि ५३ हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको सरकारी तथ्यांक नै छ । कात्तिक ६ गते सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार नौं सय पुग्यो।
सुनको मूल्य बढेको बढ्यै छ तर सुन पसलमा किन्ने कोही छैन । बेच्नेको मात्र भीड देखिन्छ । यता, व्यापारीहरु सुन किन्दैनन् । बरु एक तोला सुन राखेर ५० हजार ऋण दिन्छन् । त्यो पनि मासिक ३६ प्रतिशत ब्याजदरमा । कर्जा तिर्न तीन महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र कर्जा चुक्ता नगरे ५० हजारमा सुन पचाउँछन्।
यस्तै, कपडा पसल, ब्युट्री पार्लर, होटल, रेस्टुरेन्टहरुमा पनि एक जना ग्राहक देखिदैँन । हार्डवेयरको व्यवसायमा पनि मन्दी आएको छ । फलाम, डण्डी, सिमेण्टीको किनबेच ठप्प भएको छ । सार्वजनिक ठाउँहरुमा मीटरब्याजमा ऋण लिने–दिनेहरु यत्तिकै भेटिन्छन् । चौतारा, पार्कमा बस्दा अधिकांशले मीटरब्याजमा ऋण मागिरहेको सुनिन्छ।
यसरी ऋण दिँदा एक लाखकै मासिक पाँच हजारदेखि ३० हजार ब्याज लिइन्छ । पहिल्यै ब्याज काटिन्छ । कर्जा तिर्न एक महिनादेखि तीन महिनाको समय दिएको हुन्छ । र, सो अवधिभित्र तीन फिर्ता नगरेमा गुण्डा लगाएर उठाइन्छ । यति गर्दा पनि नसके चेक बाउन्स मुद्दामा ऋणलाई जेल हालिन्छ । अहिले अधिकांश सहकारी, लघुवित्त, फाइनान्सको बोर्ड हटाइएको पाइन्छ।
बोर्ड राख्दा आक्रोशित पीडित बचतकर्ताले तोडफोड वा आगलागी गर्न सक्ने डरले घरधनी आफैंले बोर्ड हटाएका हुन् । उनीहरुले बोर्ड फेरि राख्न दिएका छैनन् । सहकारी, लघुवित्त, फाइनान्स ठग, चोर हुन् भनेर अहिले सबैजसोले थाहा पाएका छन्।
यी संस्था भागिसकेका छन् । त्यो पनि करोडौं बचतकर्ताको खर्बौ रकम लिएर । यता, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकमा समस्या देखिसक्यो । त्यसैले त बैंकहरु धमाधम आफ्ना शाखा कार्यालय बन्द गरिरहेका छन् । तर, यो कुरा बाहिरिन भने दिइएको छैन । केही वर्षयता घरजग्गा, गाडीमा व्यापक मन्दी छ।
सेयरमा त जहिल्यै दलालीले चलखेल गरेर सर्वसाधारण डुबाउँदै आइरहेका छन् । अहिले मालपोत र यातायात कार्यालयमा सेवाग्राही नै भेटिदैँन । सेवाग्राहीको भीडले थेगिनसक्नु हुने यी कार्यालयमा अचेल चहलपहल नै छैन । घरजग्गा कारोबार गर्ने दलाली, बिचौलिा, लेखनदासहरुको उठीबास भएको छ।
घरजग्गा कारोबारमा मन्दी आउनासाथ उनीहरुलाई जीविकोपार्जन गर्न कठिनाइ भएको छ । अधिकांश त चिया खाने समेत पैसा नभएको बताउँछन् । गाडी र सेयरमा पनि उस्तै छ । गाडीको किनबेच ठप्प छ । सेयरमा भने दलालीहरुको चलखेल कायमै छ । अहिले भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा आम नागरिक जान छोडेका छन्।
एकातिर यहाँको सामान महँगो अर्कोतिर गुणस्तरहीन, कम तौल, म्याद सकिएको । यसैले पनि यी ठाउँमा सर्वसाधारण जादैँनन् । निजी संघसंस्था, होटल, रेस्टुरेन्ट, फर्म, पसल वा घरायसी काम गर्नेहरुले मासिक तीन हजारदेखि दश हजार तलबमा काम गर्छन् । बिडम्वना, उनीहरुले यँही तलब पनि वर्षौदेखि पाएका छैनन्।
यता, घरधनीहरु चोकचोकमा डेरामा बस्ने खोज्दै हिँडेको भेटिन्छ । उनीहरु चिनजान भएका पसलहरुलाई भन्छन्, ‘कोही डेरामा बस्ने आएमा मेरो घरमा ल्याइदिनु ।’ अधिकांश घरधनीहरु भाडामा बसिरहेकाले पनि भाडा नतिरेको गुनासो गर्छन् । डेराबहाल भने कि हामीलाई भाडा तिरेको बिल दिऔं कि वडा, नगरपालिकामा जऔं । नभए हामी भाडा तिर्दैनौं भन्छन्।
घरधनीहरुले आफुहरुलाई ठगेको र राज्यलाई राजस्व छलेको कुरा भाडामा बस्नेहरुले थाहा पाए । हुन त घरधनीहरुले डेराबहाललाई ठग्नु ठगेका छन् । एउटा अध्याँरो सानो कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजारसम्म असुलिन्छ । एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि १९ लाखसम्म भाडा घरधनीहरुले उठाउँदै आएका छन् । खाली सटर त २० देखि ५०–६० लाखमा किनबेच गरिन्छ । घरधनीहरुले डेराबहालसँग यत्रो भाडा उठाएपनि वडा कार्यालयमा भने आफ्नो घर महिनौंदेखि खाली रहेको, सित्तैमा आफन्त बसिरहेको वा सस्तो भाडामा लगाएको भनेर कर छल्दै आएका छन्।
यद्यपि, यो कुरा डेराबहालले थाहा पाउनासाथ उनीहरु घरधनीविरुद्ध उभिएका हुन् । अर्को कुरा चर्को भाडा लिएपनि डेराबहाललाई सेवासुविधा भने केही नदिने । पानी न कपडा सुकाउने ठाउँ । पानी नदिएपनि पैसा भने दोब्बर लिने । बिजुली, फोहोर, इन्टरनेटको पनि जथाभावी पैसा असुल्ने । घरधनीहरुको अत्याचारविरुद्ध डेराबहालहरु खरो रुपमा उत्र्रिन लागेका छन्।
बजारमा अधिकांश भन्छन्, ‘घरधनीलाई भाडा नतिरौं । तिर्ने परे वडा, नगरपालिकामा जऔं ।’ अब सरकारले पनि कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण गरिदिनु पर्यो । सँगै भाडामा बस्नेले पाउने सेवासुविधा पनि तोकिदिनुपर्यो । अहिले घरधनीहरुले भूकम्पले चर्काएका वा भत्किन लागेका घर पनि चर्को मूल्यमा भाडामा लगाएका छन्।
त्यसैले, अब सरकारले यो रोकिदिनुपर्यो । घरको वर्गीकरण गर्नुपर्यो । साथै, चर्किएका वा भत्किन लागेका घर भाडामा लगाउन रोक लगाउनुपर्यो । डेराबहालहरु घरधनीले मागेजति पैसा तिरेर भाडामा बसेका हुन् । अनि घरधनीहरु भने जस्तो पनि घर भाडामा लगाएर उनीहरुको जीवनमाथि खेल गरिरहेका छन्।
अब सरकारले चर्किएका, भत्किन लागेका घरहरु भाडामा लगाउने घरधनीहरुलाई कारबाही गर्नुपर्छ । कानूनमा पैसा लिएपछि बिल अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था छ । तर, घरधनीहरु डेराबहालसँग चर्को भाडा उठाउँछन्, बिलभ नै दिदैँनन् । अनि राज्यलाई तिर्नुपर्ने दश प्रतिशत घरबहाल कर पनि तिर्दैनन्।
पछिल्लो समय घरधनीहरुको निद्रा र भोक नै हराएको छ । एकातिर घर खाली हुदैँ गएको छ भने अर्कोतिर बसिरहेका डेराबहालले पनि भाडा तिर्दैन । अधिकांश घरधनीहरुले घर भाडामा लगाएर आएकै पैसाले जीविकोपार्जन गर्दै आएका छन् । तर, घर खाली भएपछि वा डेराबहालले भाडा नै नतिरेपछि के गर्ने?
पैसा नदिई पसलेले सामान दिदैँन । अनि पैसा घरधनीसँग छैन । फेरि इट्टा, ढुंग, बालुवा, सिमेण्टी त खान पनि मिल्दैन । यति मात्र नभई घर बैंकको नाममा छ । बैंकको साँबा ब्याज तिर्न समेत पैसा छैन । घर बेचेर ऋण तिर्न बिक्री हुदैँन।
चार वर्षअघि तीन करोडमा बिक्री हुने घर अहिले त्यसको आधा मूल्यमा समेत बिक्दैँन । जसका कारण घरधनीहरु तनावमा छन् । उता, घरधनीले किस्ता तिर्न नसक्दा यसको असर बैंकमा पनि परेको छ । बैंकको लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर सबैलाई थाहा छ।
फेरि यँही क्षेत्रमा मन्दी छ । यसैले, सहकारीजस्तै अब बैंक पनि छिट्टै डुब्ने देखिएको छ । सरकार अझै पनि अर्थतन्त्र र बैंक ठिकठाक छ भनेर ढाँटिरहन्छ कि सत्य कुरा बताएर सर्वसाधारणलाई डुब्नबाट जोगाउँछ ? अब यो हेर्न बाँकी छ।