सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एउटा अभियुक्तको ठगी राजनीति

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रहरी अनुसन्धानलाई प्रभावित बनाउन र अदालतलाई दबाबमा राख्न पूरै पार्टीपंक्ति नै पोखरामा परिचालन गरी लामिछाने आफूचाहिँ हिरासतमा बसेका छन्।

ग्यालेक्सी टीभी चलाउने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा लामिछानेले रकम अपचलन गरेको आरोप छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेलाई पक्राउ गरी पठाइदिन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्र पठाएको थियो। सोही दिन पक्राउ गरिएको थियो।
त्यसमा ‘सहकारी ऐनले परिभाषित ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा‘कास्की जिल्ला अदालतबाट २०८१/७/२ गते पक्राउ अनुमति जारी भई आएको’ उल्लेख छ।

अनुसन्धान ठगी र सङ्गठित अपराधमा केन्द्रित हुने पनि शर्माले जानकारी दिए।

अदालतले पक्राउ अनुमति दिएको समाचारसँगै लामिछानेले सामाजिक सञ्जालमार्फत् सत्ताधारी दलका नेताहरू लक्षित हमला गर्दै आरोपको प्रतिवाद गरेका थिए।

उनले प्रधानमन्त्रीको पूरा नाम नलेखेर ‘ओलीजी’ भन्दै “भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्रीको प्रस्ताव लत्याएको तर तिनै भ्रष्टाचारीलाई जोगाउन तपाईँले त्यही प्रस्ताव रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो, वाचास्वरूप तपाईँले मेरो बलि चढाउने सम्झौता त्यसै रात गर्नुभयो। त्यो मलाई राम्रोसँग थाहा छ’ भनी लामिछानेले लेखेका थिए।

आफू उम्किनका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने लामिछानेले अहिले पोखरामा सहकारी पीडितको आन्दोलन नै दबिने गरी रास्वपाका कार्यकर्तालाई देशभरीबाट बोलाएर दिनहुँ प्रदर्शन गरीररहेका छन्।