काठमाडौं । सहकारी ठगी प्रकरणको साङ्लो र गोरखा मिडियामा रहँदा शेयर लिएर यसमा सघाएको आरोपसहित संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति रवि लामिछाने रक्षात्मक बन्न थालेका छन्।
केही समयअघि पोखरामा सूर्यदर्शन सहकारीका पीडितले प्रदर्शन गर्दा आफू संलग्न नरहेको भनी बयानमा उत्रिएका लामिछानेलाई अहिले निर्वाचन क्षेत्रमा नै सकस पर्न थालेको छ।
चितवन–२ का विभिन्न स्थानमा हुने सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा प्रहरीको बाक्लो परिचालन गर्ने बाध्यतामा लामिछाने पुगेका छन्।
चितवनमा लामिछानेको बिरोमा उत्रिएका सहकारीपीडितहरू भरतपुरको चौबिसकोठीबाट ब्यानरसहित लायन्सचोक पुग्दा प्रहरीले रोकेको थियो। प्रहरीले रोके पनि उनीहरू विभिन्न बाटा हुँदै नारायणी कला मन्दिरमा पुगेरै छाडे। उनीहरू गेटबाट भित्र पस्न खोज्दा फेरि प्रहरीले रोक्यो। केहीबेर धकेलाधकेल पनि भयो।
सहकारी पीडितलाई सहयोग गर्न आएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवाहरू पनि कला मन्दिरको गेटमा थिए। सहकारी पीडित र युवाहरू कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुंगा प्रहार भयो। त्यसपछि गेट बाहिर रहेकाले पनि ढुंगा फर्काए। दुवैतिरबाट ढुंगा हानाहान भएपछि जिल्लाका विभिन्न युनिटबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले सहकारी पीडितहरूले आफ्ना कुराहरू सांसदसमेत रहेका लामिछानेसामु राख्न खोज्दा आफूहरूमाथि कुटपिट र दमन भएको बताए।
संयोजक दुवाडीले गोर्खा मिडिया प्रा.लि.को शेयर सदस्य तथा प्रबन्ध निर्देशक भएको नाताले ६५ करोड रकमको १५ प्रतिशतको जिम्मेवारी लामिछानेले लिनुपर्ने आफूहरूको माग रहेको बताए। उनले लामिछानेले जनतालाई भ्रमित बनाउने, पीडितलाई थप पीडित बनाउने काम गरेको बताउँदै चितवनमा एक लाख सहकारी पीडित उनका विरुद्ध आन्दोलन गर्न तयार हुने बताए।
लामिछानेले राजनीतिक रुपमा उदय हुने संकेत जहाँबाट पाएका थिए, जहाँका जनताले उनलाई दुई पटक सदनमा पु¥याए अहिले उनीहरूका माझमा नै रक्षात्मक भएर उभिनुपर्ने नियती भोगीरहेका छन्।
सहकर्मी शालिकराम पुडासैनीको आत्महत्यापछिको दुरुत्साहन मुद्दामा लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित हुँदा सर्वसाधारणले उनको पक्षमा आन्दोलन चर्काएर राजनीतिमा उदाउन सक्ने संकेत दिएका थिए। तर, अहिले सोही ठाउँमा उनको बिरोध तिव्र हुन थाल्दा रक्षात्मक बन्नुपर्ने बाध्यतामा पुगेका छन्।