बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वसाधाारणलाई कुटपिट गर्ने दुई प्रहरी निलम्बित

बिहिबार, माघ १० २०७५

बागलुङ माघ, १०–
सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६, हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।

गत पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारबाहीका लागि दुवै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

दुवै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेकोे र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका थिए । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।