काठमाडौं पुस, २३–
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही पुुस २१ गते डोटी र डडेल्धुरामा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । डोटीमा भएको कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतमको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथीहरुमा दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, उपमेयर शिवराज खड्का, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय समाजसेवी, पत्रकार, रेडियोकर्मीहरुको उपस्थिती रहेको थियो ।
यस्तै सोहीदिन डडेल्धुरामा संचालित कार्यक्रममा सामाजिक अभियन्ता तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले फजुल खर्च गर्नुभन्दा बीमा गर्न आग्रह गरेका छन् । सन नेपालको शाखा कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाम बस पार्कमा आयोजना गरेको बीमा जागरण कार्यक्रममा उनीहरुले सो आग्रह गरेकाहुन् । कार्यक्रममा सहभागी हुन पहिलो पटक डडेल्धुरा आएका धुर्मुसले भने, ‘रक्सी–जाड, चुरोट खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस् ।’ जाँड रक्सी बिँडी–चुरोटमा खर्च गर्ने पैसाले बीमा गरेर खुशी बन्न सकिने उनको भनाइ थियो । अहिले आवश्यकभन्दा पनि अनावश्यक ठाउँमा खर्च गर्ने परिपाटीको विकास भएकाले मदिरा, चुरोट, खैनि जस्तो क्षेत्रमा अनावश्यक खर्च गर्नुभन्दा पनि जीवनलाई सुरक्षा दिने क्षेत्रमा लगानी गर्न सुझावदिए । सुदूरपश्चिममा अहिले पनि बालविवाह, छाउपडि कुप्रथा जस्ता सामाजिक कुरिति रहेकाले उल्लेख गर्दै धुर्मुसले यस्ता कुसंस्सकारका विरूद्व डटेर लाग्न नागरिकलाई आग्रह समेत गरेका छन् ।