शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सत्तामा तर लाचार प्रचण्ड

सोमबार, असार १० २०८१

काठमाडौं । सत्ता समीकरणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो बर्षको कार्यक्रममा पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘घन्टी’ बजाए। वास्तवमा त्यो एउटा स्वभाविक काम भए पनि राजनीतिक रुपमा लाचारीको प्रमाण हो।

त्यसभित्रको आन्तर्य के हो भने सत्ता समीकरणमा रहेका दल र तिनका नेताको दबाब थामिनसक्नु छ। प्रधानमन्त्री भए पनि प्रचण्ड सत्ता समीकरणका अन्य दल र नेताको दबाबले थलिएका छन् ।

तीन पटक समीकरण बदलेर विश्वासको मत लिएका प्रचण्डको सरकारमा अहिले एमालेको साथ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उनलाई थामिनसक्नु दबाब छ। राजदूत नियुक्तिदेखि अनेक नियुक्तिमा ओली हावी छन्। ओली आफैं सरकारमा छैनन् तर प्रधानमन्त्रीभन्दा बलिया छन्। प्रचण्ड प्रधानमन्त्री पदमा आसिन छन् तर लाचार जस्तो कार्यकारी अधिकारको प्रचुर प्रयोग गर्न पाइरहेका छैनन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकार आफैं ढल्ने विश्लेषण गरेका छन्। उनले भने,‘कांग्रेस सरकार ढाल्न लागि पर्दैन। तर तीन पटक एउटै प्रधानमन्त्रीले विश्वासको मत लिनु भनेको सरकार कमजोर छ, यो आफैं ढल्छ।’

यो संकट र निराशाका कुरा प्रचण्ड आफ्नै भाषणमा भावसहित पोख्ने गर्छन्। बजेटका विषयमा प्रश्नोत्तरमा प्रचण्डको उत्तर सुन्न कुनै नेता नै बसेनन्। जबकि, प्रधानमन्त्री बोल्दा सबै बस्ने प्रचलन थियो।

प्रचण्ड आफैंले यो विरक्त अवस्थाप्रति भने,‘संसदमा सदस्य छैनन्। प्रधानमन्त्री बोलिरहेको छु। बेवास्था छ। साँच्चै भन्दा यो एक प्रकारको अपमान जस्तो महशुस गरेको छ।’

सँधै चलायमान रहने प्रचण्ड धेरै चलायमान हुँदा यस्तो स्थितिमा पुगेका हुन्। छटपटी र स्थिरतामा बस्न नसक्ने उनको राजनीतिक व्यवाहारका कारणले नै सरकारका सहयोगी दलले पनि उनको मानलाई बढावा दिन छाडेको जस्तो लाग्छ। प्रतिपक्षी त उनको सहयोगका निम्ति हुने कुरै भएन।

‘उनी कमजोर भइसकेका छन्। समीकरण अदलबदल गरी पदमा बस्ने बानी र लोभका कारण नै कमजोर भएका हुन्’, एक राजनीतिक विश्लेषक भन्छन्,‘त्यो प्रचण्ड शक्तिशाली प्रधानमन्त्री र अहिले नाममात्रका प्रचण्डमा यहि भिन्नता देखिन्छ।’