बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषिलाई सम्मानित पेशा बनाउपर्छः रामचन्द्र पौडेल

बिहिबार, पुष १९ २०७५

काठमाडौं पुस, १९–
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । 

ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको बिहीबार उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए ।  उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए । 

किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे  । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताए । 

ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्ने बताए । सहकारीका अध्यक्ष लालबहादुर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारी लगायतले कृषिमा आकर्षण बढाउन सरकारले योजना बनाउनुपर्ने बताए ।