काठमाडौं पुस, १२–
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै अध्यक्षमा लोकतान्त्रिक अभ्यास गर्ने पद्धति नभएको आरोप लगाएका छन् । उनले नेकपाका दुबै चालक (केपी शर्मा ओली र प्रचण्ड) मा लोकतान्त्रिक अभ्यास गर्न सक्ने क्षमता नै नभएको जिकिर गरे । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँगको कुरकानीमा नेता थापाले ओली प्रचण्डसँग लोकतान्त्रिक पद्धतिअनुसार अभ्यासमा जान ‘सेट अप स्किल’नै नभएको दाबी गरे ।
बुधबार प्रचण्डले संसदमा दिएको अभिव्यक्तिप्रति इंगित गर्दै नेता थापाले ओली प्रचण्डमा अझै कम्युनिष्ट सिद्धान्तमा रहेको अधिनायवादको भूतले बेलाबेला झस्काउने गरेको बताए । नेता थापाले धर्म वैयक्तिक विषय भए पनि सनातन धर्मको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले सरकार समेत धर्म परिवर्तनको षडयन्त्रमा लागेको भन्दै कांग्रेस त्यसको खिलापमा उभिने उभिने प्रष्ट पारे ।
महासमिति बैठकको पूर्वसन्ध्यामा नेताहरु मर्यादासमेत बिर्सिएर आरोप प्रत्यारोपमा उत्रिएको भए पनि महासमिति बैठक सुखद अन्त्य हुनुले राम्रो सन्देश दिएको बताए । संविधानमा अपनत्व लिएर संविधानको सार्थक कार्यान्वयनमा काँग्रेस लाग्छ भन्ने कुराको सन्देश महासमिति बैठकले दिएको उनले दाबी गरे ।
महासमिति बैठकबाट सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भावनात्मक एकता भएको भन्ने विषयमा नेता थापाले भने, ‘नेताहरूको लभ होइन विवाह आवश्यक छ । लभ सानो कुराले टुंगिन सक्छ । विवाह भयो भने त्यो सम्बन्ध संस्थागत हुन्छ ।’
उनले थपे, ‘ हामी हेर्छौं सभापति र वरिष्ठ नेताको लभ विवाहसम्म पुग्छ कि लभमा मात्र सिमित हुन्छ । ’ साथै नेता थापाले गुट नभएको पार्टीको कल्पना गर्नु हावादारी कुरा हुने बताए । उनले भने, ‘गुट उपगुट हुनु स्वभाविक हो । तर गुट गिरोहमा रुपान्तरण हुँदा समस्या भएको हो ।’
पार्टीमा विधानको सर्वोच्चता रहने भन्दै पार्टी अब व्यक्तिको रहरमा नभई विधानको आधारमा चल्नुपर्नेमा उनले जोड दिए ।