शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

निर्मलाको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्ना

सोमबार, मंसिर १७ २०७५

कञ्चनपुर मंसिर, १७–
बलात्कारपछि हत्या गरिएकी  निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै  नागरिक संघर्ष समितिले आन्दोलन चर्काएको छ । सोमबार नागरिक संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुनः धर्ना दिएको  छन । सोमबार बिहान ११ बजेदेखि प्रशासनको मुल गेटमा नागरिक संघर्ष समितिका पदाधिकारीले निधारमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।
नागरिक संघर्ष समितिका सदस्य एव कञ्चनपुरकी अधिकारकर्मी शारदा चन्दले चार महिनासम्म पनि हत्यारा सार्वजनिक नगरिएका कारण फेरी आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार सोमबार र मंगलबार प्रशासनको मुल गेटमा कार्यालय समयमा धर्ना दिइने छ । कार्यालय प्रवेस गर्ने मुख्यद्वारमै कालोपट्टी बाँधेर धर्नामा बसेपछि सेवाग्राही भने मारमा परेका छन् । कर्मचारी १० बजेभित्र कार्यालय प्रवेस गरिसकेका थिए, भने पछि एक घण्टापछि आएका सेवाग्राही मारमा परेका छन् । टाढा टाढाबाट आएका सेवाग्राही फर्किन थालेका छन् ।

आन्दोलनकारीले प्रशासनको मुल गेटभित्रबाट प्रवेस गर्न नदिएपछि वडा कार्यालयको गेट भएर कार्यालय जान लागेका सेवाग्राहीलाई समेत फर्काइदिएका छन् । आन्दोलनका कारण प्रशासनको काम कार्बाही समेत प्रभावित भएको छ । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले सरकारले हत्यारा सार्वजनिक गरेर आन्दोलन फिर्ता हुने बताए ।

कञ्चनपुर प्रहरीले आन्दोलनभन्दा पनि अनुसन्धानमा नागरिकले सघाउनुपर्नेमा जोड दिँदै आएको छ । कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको गहन छानबिन भइरहको जनाएको छ ।