१६ असोज, काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले ‘काठमाडौं प्रहरी अवार्ड’ स्थगित गरेका छन् ।
प्रहरी नियमावलीविपरीत भएको जनाउँदै अवार्ड स्थगित गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेपाल बंगलादेश बैंक लिलिटेडको आर्थिक सहयोगमा परिसरले गत वैशाखबाट अवार्ड वितरण गर्दै आएको थियो । तत्कालीन परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले यसको सुरुवात गरेका थिए ।
परिसरका प्रमुख एसएसपी वसन्त लामाले तत्कालका लागि अवार्ड वितरण स्थगित गरिएको बताए ।
‘काठमाडौं प्रहरी अवार्ड तत्कालका लागि रोकिएको छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने देखियो,’ एसएसपी लामाले भने, ‘यसको अर्थ प्रहरीलाई अवार्ड नै नदिइने भन्ने होइन । सबै बन्दोबस्त अब सरकारी तहबाटै हुने गरी व्यवस्था मिलाइन्छ ।’
परिसरले गत चैतमा बैंकसँग १८ लाख ६० हजार प्राप्त गर्न सक्ने गरी सम्झौता गरेको थियो । उक्त रकमले वर्षदिनसम्म अवार्ड दिने परिसरको योजना थियो ।
निजी कम्पनीसँगको आर्थिक सहकार्यले दैनिक सम्पादन हुने काम र अपराध अनुसन्धानमा समेत प्रभाव पार्न सक्ने ठहर गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अवार्डको विपक्षमा थिए ।
बैंकसँगको सम्झौतापछि परिसरले चार लटमा मातहतका जवानदेखि वरिष्ठ प्रहरी अधिकृतसम्म २४ जनालाई अवार्ड प्रदान गरिसकेको छ ।
प्रत्येक महिना कार्यसम्पादन मूल्यांकनका आधारमा डिएसपी, इन्स्पेक्टर, सइ, असइ, हवल्दार जवान गरी ६ जनालाई अवार्ड दिँदै आएको थियो ।
जसमा डिएसपीलाई ५० हजार, इन्स्पेक्टर ३५ हजार, सइ २५ हजार, असइ २० हजार, हवल्दार १५ हजार र जवानलाई १० हजार रुपैयाँ नगद प्रदान गरिन्छ । अहिलेसम्म ६ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ ।
महानिरीक्षक खनालको निर्देशनपछि अवार्ड वितरण रोकिएको जनाइएको छ । अवार्ड प्राप्त गर्न परिसरमातहतका प्रहरी अधिकृतबीच अस्वस्थ प्रतिस्पर्धा चलेको र यसले प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काउन सक्ने जनाउँदै महानिरीक्षक खनालले निर्देशन दिएको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, अवार्ड पाउन प्रहरी अधिकृतबीच नै अस्वस्थ प्रतिस्पर्धा भएको सूचना प्राप्त भएको थियो । ‘यसले प्रहरीको मनोबल मात्र होइन, ‘चेन अफ कमान्ड’मा नै असर पुग्ने देखियो,’ स्रोतले भन्यो ।