काठमाडौं भदौ, १८–
होङ्सी शिवम् सिमेन्टले नेपाली बैंकहरुसँग ऋण उठाउन सम्झौता गर्ने भएको छ । नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्टमा नेपाली बैंकहरूले १६ अर्ब रुपैयाँ ऋण लागानी गर्ने भएका छन् । ३६ अर्ब रुपैयाँको लगानीमा खुलेको कम्पनीमा एनएमबी बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, प्रभु बैंक, एभरेष्ट र नेपाल एसबिआइ बैंकले सहवित्तीयकरणमा ऋण दिन लागेका हुन्। बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको जमानतमा नेपाली बैंकहरूले ७ वर्षका लागि ऋण लगानी गर्न लागेका हुन् । एनएमबी बैंक कम्पनीको सेक्युरिटिज एजेन्ट समेत हो ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले ठूला पूर्वाधार आयोजनामा लगानी गर्न अब नेपाली बैंक पनि सक्षम भैसकेको प्रतिक्रिया दिए । कम्पनीमा एनएमबीसहित, नेपाल इन्भेष्टमेन्ट, प्रभू, एभरेष्ट र नेपाल एसबिआई बैंकको क्रमशः ६ अर्ब ७५ करोड, ४ अर्ब, ३ अर्ब, १ अर्ब २५ करोड र १ अर्ब रुपैयाँ लगानी हुनेछ । लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको थियो । उसले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँबराबरको वैदेशिक लगानीको स्वीकृत पाइसकेको छ ।
३६ करोड ९१ लाख अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना देशकै ठूलो सिमेन्ट उद्योग हो । कम्पनीले उत्पादन थालेपछि बल्ल बैंक ऋण चलाउन लागेको हो। अब कम्पनीको काम चालु भइसकेकाले त्यसका लागि आवश्यक पैसा बैंकबाट लिन लागेको हो। अहिले एनएमबी र प्रभु बैंकबाट मात्र एक अर्ब लगेको हो। समझदारीपछि अरु बैंकले पनि पैसा दिनु पर्ने हुन्छ।
स्वदेशी लगानी ३० प्रतिशत र विदेशी लगानी ७० प्रतिशत छ। उद्योगमा शिवम सिमेन्टको ११ अर्ब ४ चार करोड रुपैयाँ लगानी रहनेछ भने होङसी ग्रुपको २५ अर्ब रहनेछ। ऋण र लगानीको अनुपात भने होङसीको ६२.४१ प्रतिशत र शिवम सिमेन्टको ३७.५९ प्रतिशत रहनेछ। बैंक ऋणअघि उद्योगले सबै पैसा चीनबाट ल्याएर लगानी गरिरहेको थियो।