बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आर्थिक सम्मृद्धिका लागि कृषिमा लगानी

बुधबार, भाद्र २० २०८०

नेपाल विषम प्रकारको हावापानी भएको मुलुक हो । सानो मुलूक भएपनि विविध प्रकारको हावापानी भएको हुनाले सम्भावनाका हिसावले कृषिमा नेपाल धनी मुलूक मानिन्छ । उचित प्रकारको हावापानी भएको हिसाबले यहाँ कृषि ब्यवसायको प्रचुर सम्भावना रहेको छ । तराईको फाँटहरुमा धान मक्कै गहुँ लगायत उखु, केरा खेती फस्टाउन सक्ने संभावना छ । तराईमा मलिलो भूमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । सिँचाईलाई कम लागतमा खेतका गरागरामा पुर्याउन सकिन्छ ।

पहाडी तथा तराई क्षेत्रमा ठूला तथा सम्भावना बोकेका नदिका कारण कृषिलाई सिंचित गर्न र विद्युतिय माध्यमबाट खेति गर्न सकिने सम्भावना छ । त्यसैगरी हिमाली क्षेत्रमा जडिबुटीको उत्पादनले देशको आर्थिक स्तर सहजै माथि उस्कने अड्कल नभएका होइनन् । मुलुकको दिगो आर्थिक विकासका साथै मजबुत ग्रामीण अर्थतन्त्रलाई उपलब्धि मुलक बनाउन सकियो भने देशको गरिबी निवारणमा टेवा पुर्याउन गाह्रो छैन ।

कुनै समयमा बिश्व बजारमा अत्यधिक बलिया र आर्थिक उपार्जनको रुपमा मानिएका आर्थिक क्षेत्रहरु समेत समयक्रमसँगै धराशायी बन्दै गएको औद्योगिक पृष्ठभूमिमा कृषि यस्तो क्षेत्र हो, जो जीवन रहेसम्म रहन्छ । अर्थात् जबसम्म कृषि छ, तबसम्म जीवन रहन्छ । उचित प्रबिधिको प्रयोग गर्न सकियो भने कृषिले औधोगिकलाई मात खुवाउन सक्छ । जसको उदाहरणको रुपमा हाम्रै छिमेकी देश भारतको पन्जाब प्रान्त र कस्मिर लगायत क्षेत्रले कृषिमा गरेका बिकासलाई लिन सकिन्छ । त्यस्तै कृषि बिकासको गतिमा उल्लेख्य फड्को मारेका चीन, कोरिया, नजीकको छिमेकी बङ्लादेश जस्ता देशलाई हेर्ने हो भने उनिहरु आधुनिक प्रबिधिको प्रयोगमा बढी जोड दिने गरेका छन् । यस्ता पाठ सिकेर नेपालले पनि बेलैमा कृषिमा लगानी बढाउन सक्नु पर्दछ ।

सरकारले नेपालले कृषिमा फड्को मार्न सक्ने बताइरहँदा अन्तत्वागत्वा देशले कृषि उत्पादनमा नयाँ विधि प्रणालीका साथ अघि बढ्नुको विकल्प नहुन सक्छ । कृषि र किसानलाई प्रोत्साहन र सुरक्षा ग्यारेन्टीको प्रबन्ध मिलाउन सकेमात्र कृषि व्यवसायले गति लिन सक्छ । तर, बर्तमानमा हाम्रो कृषि क्षेत्रमा देखिएको भोगिरहेका प्रमुख समस्या भनेकै बजार सम्मको पहुँच हो भन्दानि अतिसयोक्ती नहोला । किसानको बजारसम्म पहुँच र प्रभाव पुग्न सकेको छैन । साथै उत्पादन गरिएको बस्तुको भण्डारणमा उचित व्यवस्था समेत नहुने भएकोले किसान सस्तो मोलमा आफ्ना उत्पादनहरु बेच्न बाध्य हुने गरेको तथ्य हामी सामु छर्लङ्ग छ । धुर्त बिचौलियाको शोषणमा किसान परेका छन् । गरिब किसानको भण्डारको अभावको फाइदा धूर्त बिचौलियाहरुले उठाइरहेका छन् । केही दिन अघि मात्र पनि तरकारीमा बिचौलियाले गरेको हर्कतलाई लिन सकिन्छ । किसान आफ्ना उत्पादनहरु मिहिनेतको मोलसमेत नउठ्ने मूल्यमा बेच्न बाध्य भइरहेका हुन्छन् । तर बिचौलिया रातारात मालामाल भइरहेका हुन्छन् । यस्तो बेथितिको अन्त्य नभएसम्म कृषकको उत्थान, प्रगति ,गरिबी निवारण र कृषिमा निर्भरताका हाम्रो दिवा सपनासिवाय अरु हुनसक्दैन । स्तो प्रवृत्तिले साना किसानको साथसाथै आम उपभोक्तासमेतले मुल्यवृद्धिको चपेटामा पर्न बाध्य छन् । जसका लागि राज्यले किसानको उत्पादनमा सुरक्षा र लगानीमा ग्यारेन्टीको भावना विकास गर्न सक्नु पर्दछ ।

नेपालमा कृषि क्षेत्रमा माथी उकास्न आधुनिक किसिमको प्रबिधि भित्राउन मात्र सकियो भने हामी आर्थिक समृद्धि तिर अघि बड्छौ । देशको अर्थतन्त्र उकालो लाग्नेमा दुबिधा छैन । कृषि पेशालाई हरेक नेपालीको आशाको केन्द्रको रुपमा लिदै आए पनि यसले आशातित प्रतिफल दिन नसक्नुको पछाडि धेरै कारणहरु रहेका छन । कृषिप्रधान देश भएपनि कृषि ब्यवसायलाई उचित अवसर र मुल्यांकन नगरिनु यसको प्रमुख समस्या हो । अझै पनि कृषिलाई केवल कागजी नीति नियममा सीमित राख्ने परिपाटी छ । कृषि पेसालाई हालसम्म सम्मानित पेसा बनाउन सकिएको छैन । हामी नेपालीहरुलाई विदेशीको गुलामी गर्न मञ्जुर छ, तर स्वदेशमै बसी कृषिकर्म गर्न स्वीकार्य छैन । विदेशमा पसिना बगाउन तयार हामी नेपालमै कृषि व्यवसाय गर्न इज्जत र प्रतिष्ठा गुमेको महसुश गर्दछौ । कृषि पेशालाई प्राथमिकता नदिनु, कृषि कर्मलाई सम्मान नगरिनु नै हाम्रो प्रमुख दोष हो । त्यसैगरि हाम्रो कृषिको लागि प्राकृतिक वातावरण जति नै राम्रो स्तरीय भए पनि पूर्वाधारको कमीले कृषिको विकास हुन नसकेको तथ्य यथार्थ हो ।

हाम्रो देशको कृषि व्यवसाय हालसम्म पनि मौसमी खेतीमा भर परिरहेको अवस्था छ । समय सुहाउँदो विकासमा हामी लम्कन सकेको छैनौं । कृषिमा आधुनिकिकरण गरि उत्पादन बढाउन सकिन्छ । हामी अझै परम्परागत कृषि कर्ममा नै छौ । जसले उच्चतम उत्पादन दिन पनि सक्दैन र लागत पनि बढी लाग्दछ । हाम्रो देशको कृषि प्रणाली, जति नै ठूला गफ गरेपनि निर्वाहमुखीबाट माथी उठ्न सकेको देखिदैन । अझ हरेक कुरामा विदेशीको भर पर्नु पर्ने बाध्यता छ । जसको समाधान तिर हामी जानेर वा नजानेर लम्कन सकेका छैनौ । नेपाली मात्रको तरकारी गुन्द्रुकमा पनि हामी आत्मनिर्भर हुन नसकेको अवस्था छ । गुन्द्रुक पनि हामी छिमेकी राष्ट्र चीनबाट आयात गर्छौ ।

किसानलाई कृषि औजार, उपकरण, बीउविजन, मलखाद खरिददेखि लिएर युवा लक्ष्यित कार्यक्रम अन्तर्गत विभिन्न व्यवसाय सञ्चालन र प्रवद्र्धनका लागि रकम प्रदान गरेर कृषिलाई आत्मनिर्भर बनाउन सक्नु पर्दछ । उचित मात्रा नमिलाइ प्रयोग भएको रासायनिक मलको कारणले माटोको खस्किँदो गुणस्तर, बदलिँदो मौसमचक्र, घट्दो खेतीयोग्य जमिन, भएको जमीन पनि घडेरी प्लटिङको कारणले अनुत्पादक हुन पुगेको तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । खेती योग्य जमीन दिन प्रतिदिन मासिदै जानुले समस्या सिर्जना गरेको पाइन्छ । “ग्लोबल वार्मिङ” जस्ता कारणबाट यही स्थितिको उत्पादकत्व वृद्धि पनि ठूलो चुनौतीको रुपमा रहने संभावना बढ्दो छ । यी र यस्ता प्रकारका समस्यालाई राज्य स्तरबाट ध्यान दिनु अनिवार्य छ ।

यसर्थ नेपालको हावापानी सुहाउँदो कृषि व्यवसायको थालनी गर्नुपर्ने, किसानलाई आवश्यक तालिम, सहुतियतपूर्ण ऋण र उत्प्रेरणा पुग्नेखालको कार्यक्रम दिन सक्नुपर्ने आजको आवश्यकता हो । उत्पादित वस्तुको उचित मूल्य समायोजन गरी राष्ट्रिय रूपमा बिक्रीवितरण र अन्तर्रा्ष्ट्रिय स्तरसम्मको उत्पादनमा जोड दिँदै कृषि व्यवसायीलाई प्रोत्साहन, क्षतिपूर्तिको व्यवस्थामा सरकारले ध्यान दिने हो भने नेपालको भावी कृषि नीति र व्यवसायीले उपलब्धि हासिल गर्न सक्छन् । जसले हावापानी र भूगोल सुहाउँदो दिगो तथा भरपर्दो आम्दानी दिन सक्दछ । प्रकृतिले दिएको भौगोलिक बनावट र हावापानीको कारण नेपाल व्यावसायिक कृषिको लागि छनौट क्षेत्रको रुपमा पर्दछ । यसलाई मध्यनजर गर्दै केन्द्रसरकार तथा स्थानीय सरकारले उचित प्रबन्ध मिलाएर लैजान सके जसले देशमा दिगो विकासको ढोका खोल्न सक्दछ ।