काठमाडौं – काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित फैमिली पिस हाउस होटेलको कोठा नम्बर २०२ बाट अवैध लागूऔषध चरेश १ केजी र १० एमएलको सिबीडी झोल पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त कोठामा बस्ने अमेरिकी नागरिक ३० वर्षीय ….. र बेल्जियम नागरिक ४५ वर्षीय … रहेका छन् । उक्त कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा बुद्ध र गणेशको आकृति भएको धातुको मूर्तिभित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ स्थित होटल त्रिमुर्ति प्रालिको ३०६ नम्बरको कोठाबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम, नाइट्राजेपाम १५ ट्याबलेट र डिजिटल तराजु १ थानसहित झापा बिर्तामोड नगरपालिका–४ ठेगाना भएका २३ वर्षीय निल्शन उदासलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दाङको लमही नगरपालिका–४ शान्तिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद १५ हजार ४ सय २५ रुपैयाँसहित सोही ठाउँ बस्ने २८ वर्षीया गगजनी दिनिशा भन्ने वालिका सुनार समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र नगदसहित पक्राउ गरेको हो । कैलालीको जोशिपुर गाउँपालिका–४ झवहि पथरैया नदीको पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित भजनी नगरपालिका–६ नवलपुर बस्ने २८ वर्षीय राजेश चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमा बस्ने ५० वर्षीय ईन्द्र बहादुर घिसिङलाई अवैध लागूऔषध गाँजा करिब १० केजीसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घिसिङको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी कमलाखोजठाडीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।