गृहमन्त्री तिरै आरोप
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कटाइसकेको करिव एक क्विन्टल सुन बरामद गर्न सफल भएपछि मुलुक यतिबेला तरंगित छ। यत्रो सुरक्षा संयन्त्र र जाँच हुने विमानस्थलमा यत्रो परिमाणको सुन जाँचपास भएर कसरी बाहिरियो भन्ने कुराले अझ ठूलो तरंग सृजना गरेको छ ।
राजस्व अनुसन्धान विभागको टोलीले बुधवार साँझ सुन बरामद गरेको समाचार बाहिरिएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो।
यो प्रकरणसँगै विमानस्थल भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ । सर्वसाधारण नेपालीले विदेशबाट लिएर आएका एउटा मोबाइलसमेत देख्ने सुरक्षा संयन्त्रले यत्रो सुन तस्करी हुँदा देखेन ।
नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ । यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको बताएका छन्। भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ । यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन ? सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’
बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका थिए । पछि तीन जना पक्राउ परेका छन । सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको तर भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ । बिमानस्थलमा सेटिङबिना यति धेरै सुन तस्करी संभव छैन ।
अधिकारीहरूका अनुसार फेला परेको प्रज्ञापनपत्रमा २२ पटक यसअघि पनि सामान ढुवानी गरिएको देखिन्छ। त्यसैले अघिल्ला ढुवानीमा के ल्याइएको थियो भन्नेबारे पनि अनुसन्धान हुने बताइएको छ।
सुन तस्करीका घटनामा ओसार्ने काममा संलग्नहरू पक्राउ पर्छन्। ठूलो परिमाणमा बरामद हुने सुन तस्करीमा धनाढ्य व्यक्तिकै लगानी हुने ठानिन्छ। तर उनीहरू पत्ता नलाग्नु अर्को रहस्यमय बनिरहेको छ ।
गृहमन्त्री तिरै आरोप
राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरे । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताए ।
यस्तै एमाले नेता महेश बस्नेतले समेत सुन तस्करीमा संगठित सत्ता सेटिङ भएको आरोप लगाएका छन् । विमानस्थलमा त्यति ठुलो जनशक्ति र प्रविधि भएको संरचना छ र ‘संगठित सत्ता सेटिङ’ विना भन्सार जाँचपास हुन नसक्ने उनले बताएका छन् ।
उनले भने, ‘सुन गृह र अर्थको संरचनाले पास गराएपछि प्रधानमन्त्री कार्यालय अन्तरगतको राजस्व अनुसन्धान विभागले समातेको हो । तर अध्ययन र स्रोतहरुका अनुसार सुन तस्करीको जालो केवल राष्ट्रिय मात्र होइन यो अन्तराष्ट्रिय हो । अन्तराष्ट्रिय अर्थात् अन्डर वल्ड अपराधिक समूहको संग्लनताको प्रश्न छ ।’