बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

योगेशलाई संसदीय सुनुवाई विशेष समितिको सभापति बनाउने नेकपाको तयारी

आइतबार, असार २४ २०७५

काठमाडौं असार, २४–
नेकपाका नेता तथा सांसद योगेश भट्टराईले संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी पाउने भएका छन् । नेकपा निकट स्रोतका अनुसार नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बिषयमा छलफल भएको छ । 

संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णयक हुन्छ ।  
यद्यपि, यसअघि जतिसुकै विवादास्पद व्यक्ति भए पनि संसदीय सुनुवाईबाट अनुमोदन हुने गरेका छन् । नेकपाले युवा नेता भट्टराईलाई सुनुवाई समितिको सभापति बनाउन खोज्नुको अर्थ समितिको प्रभावकारिता बढाउनु रहेको बताईउको छ । 

भट्टराई पहिलो पटक सांसद निर्वाचित भएका हुन् । उनी  केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने निकै चर्चामा रहेका थिए । तर, अन्त्यमा उनी प्रधानमन्त्री ओलीको रोजाईमा पर्न सकेका थिएनन् । 
संसदीय सुनुवाई समिति गठन नहुँदा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध पारेका कारण संसदीय सुनुवाई समितिमा सांसदहरुको नाम अनुमोदन हुन सकेको छैन । दलहरुबाट भने समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस भइसकेको छ ।

संसद सचिवालयका एक अधिकारिका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल सिफारिस भएका छन् । नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल सिफारिस भएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा सिफारिस भएका छन् ।

राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ ।

समितिमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।