बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारले द्वन्द्वका लागि खुला आमन्त्रण गर्योः कांग्रेस

शुक्रबार, असार २२ २०७५

२२ असार, काठमाडौं– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका पछिल्ला दुई निर्णयलाई स्वैच्छाचारी भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गर्दै अघिल्लो सरकारले कानुनी प्रक्रियाअनुसार गरेका नियुक्तिलाई बदनियतपूर्ण हटाएर कानुन उल्लंघन गरेको आरोप लगाए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

बोर्ड, संस्थानलगायतमा भएका राजनीतिक नियुक्तिसहितका विषयमा सरकारले लिएको रबैया विधिलाई उल्लघंन गर्ने हिसाबले आएको भन्दै कांग्रेसले द्वन्द्वका लागि सरकारले प्रतिपक्षीलाई खुला आमन्त्रण गरेको जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वले गत वर्ष १४ भदौयता गरेका नियुक्ति खारेज गर्नेसहित, चिकित्सासम्बन्धी विधेयक र गोविन्द केसीको अनशन, माइतीघर मण्डलाको निषेधाज्ञाजस्ता विषयमा ओली सरकारको शैली ‘मोनोपोली’ देखिएको कांग्रेसको आरोप छ ।

सरकारका कार्यशैलीबारे १३ बुँदामा प्रतिपक्षी धारणा सार्वजनिक गर्दै शर्माले भने, ‘वर्तमान सरकारले गरेको दुई अलग निर्णयले सरकार स्वैच्छाचारी ढंगले अघि बढ्न लागेको ठहर हामीले गरेका छौँ । सरकारको निर्णय बदनियतपूर्ण छ । सहमति र सहकार्यको राजनीति होइन द्वन्द्वका लागि प्रतिपक्षीलाई खुला आमन्त्रण गरेको छ । कमरेड केपी ओली होइन, कमरेड मोनोपोली शैली भयो ।’