काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलस्थित सडकमा प्र.३–००१ ख ०८५१ नम्बरको टिपरले बा.प्र.०३–००२ प ९०४४ नम्बरको स्कुटर र बा.६३ प ३१२० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार हेटौंडा उपमहानगरपालिका–१ जरुवा टोल बस्ने २५ वर्षीय सुमित कपालीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाग्लुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीस्थित सडकमा ग.१ ज ७१९० नम्बरको बोलेरो जीप सडकबाट करिब २५ मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा जीपमा सवार सोही गाउँपालिका–३ धम्जा बस्ने १९ वर्षीय बिजय विकको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य २ जनाको धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार जीप चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।