काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईको राजीनामा माग गरेका छन् ।
भुटानी शरणार्थी मुद्दामा मुछिएका अवस्थामा स्वतन्त्र छानबिनको लागि पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्दा राम्रो हुने सामाजिक सञ्जालमार्फत जनाएका छन् । चौधरीले उच्च पदमा पुगेको व्यक्तित्वले नैतिकता देखाउनु पर्ने बताएका छन् ।
यसैबीच सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैको बयान लिन माग गरेका छन् ।
बुधबार संसद्मा बोल्दै उनीहरूले शरणार्थी प्रकरणमा विभिन्न बयानमा पोलिएका उच्चपदस्थदेखि कर्मचारीसम्म सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् । नेपाल प्रहरीका आइजिपी वसन्त कुँवरमाथि पनि छानविन हुनु पर्ने माग गरेका छन् ।
एमाले सचिव योगेश भट्टराईले नाम पोलिएको जोसुकै होस् थपक्क गएर बयान दिनुपर्ने बताए । ‘हाम्रो पार्टीको अध्यक्षको स्वकीय सचिव हुन् कि मेरो स्वकीय हुन् वा मलाई कसैले पोल्छ र प्रहरीले तपाईंको नाम यहाँ आएको छ, के गरौँ भन्यो भने म थपक्क गएर बयान दिएर आउनुपर्छ । किनभने म नागरिक हो । कानुनभन्दा माथि कोही हुँदैन,’ उनले भने, ‘प्रहरीको आइजिपीकै नाम आएको छ । कानुन कार्यान्वयनको जिम्मेवारी पाएको ६५ हजार प्रहरीको कमान्डर वसन्त कुँवरजीले नै गएर बयान दिनुपर्छ, तपाईंको संलग्नता छैन भने प्रश्न उठेका विषय क्लियर गर्नुस् । अख्तियार प्रमुखलगायत सबै जानुपर्छ ।’
रास्वपा सभापति रवि लामिछानेले लेनदेनमा नाम आएका सबैको प्रहरी कार्यालय लगेर बयान लिनुपर्ने बताए । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले यस प्रकरणमा आईजिपीको नाम मुछिएकाले उनीमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरे ।