मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

आइतबार, जेष्ठ ७ २०८०

काठमाडौं । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

कृत्रिम खुट्टा(प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका छन् ।

सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भने “वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।”