गाउँलेहरुको जनजीवनलाई प्रभाबित पारी हाईड्रो संचालन हुदा उमाकुण्ड १ मा धेरै बस्तीहरु जोखिममा परेका छन् । केहि दिनअघि सुरुङमा पानी हाले लगत्तै गाउँमा जताततै पानी उम्रिएपछि स्थानीयले बस्ती अन्यत्र स्थानान्तरण गरिदिनु पर्ने माग लिएर शनिबारदेखि आयोजनाको कार्यालयमा ताला बन्दि गरेका छन् ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडा अध्यक्ष ङावातेन्डु शेर्पाका अनुसार सबै घरका बासिन्दा आयोजनाको कार्यालय अघि भेला भएको तर निकासका लागि हालसम्म कुनै वार्ता हुन नसकेको बताउँछन् । ‘बस्ती जोखिममा परेको छ, वार्ता भएको छैन,’ शेर्पाले भने, ‘अन्योल र त्रासको वातावरण भएकोले सबै आक्रोशित बनेका छन् ।’
पेकरनासका ४२ घर परिवारको माग सुरुङ बस्ती भन्दा माथि पर्ने भएकाले कुनै बैला पनि क्षति पुग्न सक्ने भएकाले अन्यत्र बसोबास गराउनु पर्ने रहेको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार जोखिमयुक्त क्षेत्रको अनुगमनका लागि त्यसतर्फ जाँदै गरेको र वार्ताका विषयमा आयोजनाका पदाधिकारीसँग कुरा गर्ने बताए । ‘स्थानीयको गुनासो आएपछि म त्यसतर्फ जाँदै छु आयोजनाको सञ्चालक काठमाडौंमा रहेकाले उहाँहरु नभइ वार्ता गरिहाल्ने अवस्था छैन, ’ सुनुवारले भने, ‘म वार्ताको वातावरण बनाउन प्रयास गर्छु ।’ उनले यसअघि पनि आयोजनाले स्थानीय र जनप्रतिनिधिको माग बेवास्ता गर्दै आएकाले स्थानीय बढी आक्रोशित बनेको बताए ।
गाउँमा पानी उम्रिएको कुराको जानकारी आयोजनाका कर्मचारीलाई पनि छ । तर कर्मचारीहरु वर्षा लागेकोले पानी पलाएको कुरा गरेर स्थानीयको मागप्रति बेवास्ता गर्दै आएका छन् । आजसम्म कहिल्यै पानी ननिस्कने ठाउँमा पानी बाहिर आएको र अपत्यारिलो कुरा आयोजनाले गरेर टार्न खोजेको उनीहरको आरोप छ । आयोजनाका सञ्चालकहरु उत्पादन गृह क्षेत्रमा बस्दैनन् । काठमाडौंमा बस्छन् । आयोजनाका सम्पर्क व्यक्ति आइबी कार्कीले अनुसार माथिल्लो तहको कुरा भएकाले आफूले यसै भन्न नसक्ने कुराको जानकारी आन्दोलनरत पक्षलाई गराएका छन् ।
‘अब सुरुङ टालेर पानी बन्द गरियो भने पनि हामी यो जोखिम क्षेत्रमा बस्दैनौं,’कार्कीले भनिन्, ‘टालेको लुगाको भर हुँदैन । जीवन जोखिममा पारेर टालेको सुरुङमुनि बस्नुभन्दा हामीलाई उचित स्थानमा पुनर्स्थापनाका लागि आयोजनाले तत्काल काम थालोस् ।’ प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले समस्या समाधानको लागि दुवै पक्षलाई वार्तामा राख्ने वातावरण बनाउने प्रयासमा रहेको बताइन् । उनीले आयोजनाका दुई जना पदाधिकारी जिल्ला सदरमुकाम आइपुगेको र गाउँपालिका अध्यक्ष वस्तुस्थिति बुझ्न आयोजनातर्फ पुगेकोले आइतबार अपराह्नसम्म दुवै पक्ष वार्तामा बस्न सक्ने बताइन् ।