काठमाडौं – काभ्रे जल्लाको भुम्लु गाउँपालिका स्थित सुनकोसी नदीको पशुपति बगरबाट गाउँपालिकाको मिलेमतोमा बालुवा तस्करी भएको पाइएको छ ।
आइतबार मध्यरातमा सुनकोसी नदीको पशुपति बगर नजिकैको दोलालघाटमा बालुवा लोड भएका चारवटा टिपर समाए लगत्तै चालकल समुहले गाउँपालिकालाई कर बुझाएको रसीद स्थानीयलाई देखाएपछि गाउँपालिकाकै मिलेमतोमा बालुवा तस्करी भएको खुलेको हो ।
सुनकोसी नदीको पशुपति बगरबाट गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी २ हजार ५ सय रुपैयाँको रसिद काटेर बालुवा निकासीको अनुमति दिएको रसीद चालकल समुहबाट प्राप्त भएको छ । यस विषयमा तीन घुम्तीले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।
स्थानीयले सुनकोसी नदीको केही क्षेत्रहरुमा टेन्डरै भएपनि बालुवा निकासी गरिएको ठाँउमा भने वातावरणीय प्रभाव मूल्यांकन नभएकाले आफूहरुले टिपर नियन्त्रणमा लिएर प्रहरीमा भुझाएको बताए ।
स्थानीयले नियन्त्रणमा लिएका टिपर जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।