काठमाडौं – मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारस्थित सडकमा मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक मनहरी गाउँपालिका–३ बस्ने ३० वर्षीय बिरमान रुम्बा समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये १ जनाको जुरेहिल अस्पताल र रूम्बा समेत २ जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित सडकमा को.१ ख ६२६९ नम्बरको बसले प्र १–०२–०५२ प ००७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ४५ वर्षीया नन्द कुमारी राईको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–७ मुलपानीस्थित सडकमा भे.१ त ७४४० नम्बरको ट्याक्टरबाट खसेर लेकबेशी नगरपालिका–६ बस्ने २३ वर्षीय ललित रानाको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरीको औरही नगरपालिका–१ पेट्रोल पम्प नजिक सडकमा भएको सवारी दुर्घटनामा सोही ठाउँ बस्ने ५० वर्षीय राजेन्द्र यादवको सोमबार दिउँसो मृत्यु भएको छ । उक्त स्थानमा ना.२ क २७९ नम्बरको टिपरको चक्का फुक्लिएर साइकलयात्री राजेन्द्रलाई लाग्दा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिवास महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।