बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाल्पा बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

शुक्रबार, जेष्ठ १८ २०७५

पाल्पा जेठ, १८–
पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।  तानसेनबाट रामपुर जाँदै गरेको  बस दुर्घटना हुँदा ज्यान गुमाउने सबै १३ जना  तानसेन नगरपालिकाका स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ । 

तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु अवलोकन भ्रमणमा  सवार बस शुक्रबार बिहान रम्भा गाउंपालिका वडा नं. ४ हुमिनमा दुर्घटना भएको हो । लु १ ख ९७५ नम्बरको बस  सडकको डिलबाट तल झरेर दुर्घटनामा परेको हो। बस करिब  १ सय ५० मिटर तल खसेको थियो। 

दुर्घटनामा परी मृत्यु हुनेमा तानसेन ३ का देवेन्द्रलाल प्रधान, बसन्ती खांण, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, कमला कार्की, तानसेन ४ का कृष्णबहादुर बोहोरा र विष्णुमान बज्राचार्य, तानसेन ६ का दुर्गाबहादुर सारु, सुशिलप्रसाद श्रेष्ठ, गिता बुढाथोकी र तानसेन २ का लोकनाथ ढकाल रहेका छन। 

मृतकमध्ये एकजना महिलाको नाम खुल्न सकेको छैन। मृतकमध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा मृत्यु भएको थियो। अन्यको घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाईते भएका आठजनाको पाल्पाका मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ।

घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईते मध्ये प्रविण बज्राचार्यको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भईरहेको  प्रहरीको भनाई छ ।