काठमाडौँ – नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको छ ।
बढुवा सिफारिस समितिको आज बसेको बैठकले गरेको सिफारिसमा विपद व्यवस्थापन कार्यालय सामाखुशीमा दरबन्दी रहेका कुबेर कडायत पहिलो नम्बरमा छन् । प्रहरी प्रधान कार्यालय प्रशासन विभाग कल्याण महाशाखाका केदार ढकाललाई दोस्रो नम्बरमा बढुवा सिफारिस गरिएको छ ।
त्यस्तै, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जका विष्णुकुमार केसी, सुपरिवेक्षण तथा अनुगमन महाशाखाका भरतबहादुर बोहरा, अन्वेषण योजना तथा विकास निर्देशनालयमा दरबन्दी रहेका रविन्द्र केसी, विराटनगर तालिम केन्द्रका राजेशनाथ बाँस्तोला, प्रदेश प्रहरी कार्यालय बनेपाका चन्द्र कुवेर खापुङ, सुरक्षा सेवा महाशाखाका जनक भट्टराई, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका लालमणि आचार्य, कार्य विभाग कार्य निर्देशनालयका सुरेन्द्र मैनाली त्यसपछि क्रमशः बढुवाका लागि सिफारिसमा परेका छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अर्जुन चन्द ठकुरी, बाग्मती प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका यज्ञ विनोद पोखरेल र लागूऔषध नियन्त्रण ब्यूरोका विकासराज खनाललाई पनि डिआइजीमा बढुवाको सिफारिस गरिएको छ ।