मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बुधबार, चैत्र २९ २०७९

काठमाडौं – बैतडीको पाटन नगरपालिका–८ झ्याउलेकस्थित सडकमा खोड्पेबाट बझाङतर्फ जाँदै गरेको से.१ ज ७६४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार बझाङ केदारस्युं गाउँपालिका–५ बाँज बस्ने ६० वर्षीय मने बोहरा समेत ६ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार जिपका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–३ गढी गेटस्थित सडकमा बीआर ०६ डीडी ०६८७ नम्बरको कार अनियन्त्रित भई गएराति दुर्घटना हुँदा कारमा सवार भारत भगबतीस्थान मण्डीपुरसाडी समस्तिपुर बस्ने ३३ वर्षीय राजेश कुमार सिंहसहित ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अन्य एकजनालाई जिल्ला अस्पताल सिन्धुली हुँदै थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–५ बताहा खोलास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको अगाडिको ईन्जिनको भाग माथि उठ्न गई ईन्जिन र टेलरको बीच भागमा च्यापिएर चालक सोही नगरपालिका–३ राधोपुर बस्ने २६ वर्षीय अनिल उराउको मंगलबार दिउँसो मृत्यु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका–४ पानीधारास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले थप अनुसन्धनका लागि तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।